लोपोन्मुख राउटे समुदायका १ सय ३३ जना लाभग्राहीलाई बस्तीमै पुगेर १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

गुराँस गाउँपालिकाका स्थायी बासिन्दा रहेका राउटे समुदाय हाल सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोला क्षेत्रमा बसोबास गर्दै आएका छन्। उनीहरूलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम किस्ताबापत गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।

राउटे समुदायको घुमन्ते जीवनशैलीलाई मध्यनजर गर्दै गाउँपालिकाको कर्मचारी टोली, नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि प्रत्यक्ष रूपमा राउटे बस्तीमै पुगेर भत्ता वितरण गरेका हुन्। भत्ता वितरण कार्यक्रम सिम्ता गाउँपालिका–९ का वडा अध्यक्ष कविराज योगीको अध्यक्षतामा सम्पन्न भएको थियो।

गुराँस गाउँपालिकाको पञ्जीकरण शाखाका प्रमुख चेतन खड्काका अनुसार १ सय ३३ जना लाभग्राहीलाई कुल १५ लाख ९६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको हो। राउटे समुदायलाई गाउँपालिकामा बोलाएर झन्झट व्यहोर्न लगाउनुको सट्टा उनीहरू बसेकै स्थानमा पुगेर सेवा प्रदान गरिएको उनले बताए।

घुमन्ते जीवनशैलीका कारण सरकारी सेवामा पहुँच पुग्न कठिनाइ हुने राउटे समुदायका लागि बस्तीमै पुगेर गरिएको भत्ता वितरणलाई प्रभावकारी र नागरिकमैत्री अभ्यासका रूपमा हेरिएको छ। यसले सामाजिक सुरक्षा कार्यक्रमलाई लक्षित समुदायसम्म प्रत्यक्ष रूपमा पुर्‍याउने सरकारको प्रयासलाई थप प्रभावकारी बनाएको स्थानीयको भनाइ छ।

राउटे नेपालका लोपोन्मुख आदिवासी समुदायमध्ये एक हुन्। उनीहरूको परम्परागत घुमन्ते जीवनशैली, जंगलमा आधारित जीविकोपार्जन तथा विशिष्ट संस्कृतिको संरक्षणका लागि राज्यले सामाजिक सुरक्षा भत्तासहित विभिन्न संरक्षणात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।