त्रिभुवन आर्मी क्लब ३०औं पुरुष तथा ११औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा दबदबा कायम गर्दै च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न फाइनलका प्रतिस्पर्धामा आर्मीका बक्सरले अधिकांश स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल ११ स्वर्णका लागि बक्सरले प्रतिस्पर्धा गरेका थिए ।

तीमध्ये सबै स्वर्ण पदक आर्मीकै बक्सरले जित्न सफल भए । आर्मीले पुरुषमा ६ र महिलामा पाँच गरी कुल ११ स्वर्ण जितेको हो । बागमती प्रदेशले दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफलाई नै पछि पार्दै दोस्रो भयो । बागमतीले दुई रजत र सात कांस्य पदक जित्यो । पुलिस क्लबले २ रजत र दुई कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो । एपिएफले दुई रजत र एक कांस्य जित्न सफल भयो ।

No description available.

बाँकी ६ वटा प्रदेशका समान एक बक्सर फाइनलमा पुगे पनि स्वर्ण जित्न भने असफल रहे । मधेश, गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले पनि पदक जित्दै आफ्नो उपस्थिति बलियो बनाए । महिला ५१ केजी तौल समूहमा आरती भोम्जनले बागमतीकी मनीषा राईलाई ५–० को एकपक्षीय नतिजामा हराइन् । ५४ केजीमा वर्षा श्रेष्ठले एपिफकी कृष्णा गौचनलाई समान ५–० ले हराउँदै स्वर्ण जितिन् । ६० केजीमा पुनम रावलले पुलिसकी नारिका राईलाई कुनै अवसर नदिई ५–० ले हराइन् ।

महिलाकै ६५ केजीमा चन्द्रकला थापाले पुलिसकी लक्ष्मी घर्ती मगरमाथि पनि ५–० कै सहज जित निकालिन् । महिलातर्फ ७५ केजीमा भने कोशी प्रदेशकी नुमा लिम्बुले आर्मीकी निरु गुरुङलाई ५–० ले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् ।

No description available.

पुरुष ५५ केजी तौलसमूहमा आर्मीका प्रेम चौधरीले मधेश प्रदेशका लक्ष्मण राईलाई ५–० ले हराउँदै स्वर्ण जिते । ६० केजीमा आर्मीकै नितेश नेपालीले बागमतीका मिलन सार्कीलाई ५–० ले पराजित गरे । पुरुष ७० केजीमा गेशकुमार श्रेष्ठले सुदूरपश्चिमका भरत चन्दलाई ५–० ले हराउँदै उपाधि जिते । ८० केजीमा दीपक श्रेष्ठले कर्णाली प्रदेशका मनोज तामाङलाई ५–० ले हराउँदै स्वर्ण हात पारे ।

पुरुष ९० केजीमा भने प्रतिस्पर्धात्मक खेल बन्यो । आर्मीका मदन कार्कीले गण्डकी प्रदेशका किरण विकलाई ३–२ को विभाजित निर्णयमा हराउँदै स्वर्ण जिते । सुपर हेभिवेट (९० प्लस केजी) मा आर्मीका गणेश प्रधानले एपिएफका गोकुल गुरुङलाई ३–२ ले हराउँदै आर्मीलाई अर्को स्वर्ण दिलाए । प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव राजीव श्रेष्ठ र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाललगायतले पुरस्कृत गरेका थिए ।