विनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।

बुधबार गएका दुई शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १ हजार ४ सय ३० जनाको मृत्यु पुष्टि भइसकेको छ भने दशौँ हजार नागरिक अझै बेपत्ता छन्।

कोलम्बियाको ‘राष्ट्रिय विपद् जोखिम व्यवस्थापन एकाइ’ का अनुसार पहिलो बालक मोइसेसलाई करिब ३ मिटर गहिरो भग्नावशेषबाट ६ घण्टा लामो अत्यन्तै संवेदनशील प्रयासपछि शनिबार बाहिर निकालिएको हो।

आँखालाई घामको प्रकाशबाट जोगाउन पट्टी बाँधेर भग्नावशेषबाट बाहिर निकाल्दा उद्धारकर्ताहरूले ताली बजाएर खुसी साटेका थिए। रोयटर्सका अनुसार मोइसेस फेला परेको स्थान नजिकै उनकी आमा र दिदी मृत अवस्थामा फेला परेका थिए।

त्यसको केही घण्टापछि भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले काराबालेडा क्षेत्रबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको घोषणा गरिन्।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा उद्धार गरिएका बालकलाई स्ट्रेचरमा राखेर भग्नावशेषको थुप्रोबाट बाहिर ल्याउँदै गरेको भिडियो राख्दै लेखेकी छन्, ‘यस कठिन घडीमा प्रत्येक नागरिकको जीवन भेनेजुएलाका लागि आशाको किरण हो।’

अधिकारीहरूका अनुसार बुधबार ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्पले सयौँ भवनहरू ध्वस्त पारेका थिए। भग्नावशेषभित्र अझै धेरै मानिस पुरिएको आशंकामा परिवारजनले खाली हातले ढुंगा र माटो पन्छाएर आफ्ना आफन्त खोजिरहेका छन्।

कतिपयले कंक्रिटको भारी स्ल्याबमुनि मानिसहरूको आवाज सुनेको तर भारी उपकरण नहुँदा निकाल्न नसकेको पीडा पोखेका छन्।