यस वर्षको मनसुनजन्य विपद्‌मा देशभर २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा ५१ हजार घरधुरी विपद्बाट प्रभावित हुन सक्ने जनाएको छ।

गत असार ५ गते नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरिसकेको भए पनि अझै सक्रिय हुन सकेको छैन। अब सक्रिय हुन सक्ने मौसमविद्हरूको अनुमान छ। मौसम सक्रिय भएको बेला सम्भावित जोखिमको व्यवस्थापन तथा न्यूनीकरण गर्न प्राधिकरणले विभिन्न तयारी गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसुनजन्य विपद्बाट ५१ हजार घरधुरी तथा २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको बताइन्।

प्राधिकरणले मनसुनबाट उत्पन्न हुन सक्ने विपद् तथा जोखिमलाई न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्ट गठन गरेको छ।

गत बुधबार उक्त कमाण्डको पहिलो बैठक बसेको थियो। बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न तथा उक्त कार्ययोजनाअनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन पेस गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रवक्ता महतका अनुसार प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तयार गरिसकेको छ।

प्राधिकरणको बैठकले अवरुद्ध भएका राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारी अवस्थामा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

साथै, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन सञ्चालन हुन नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

यसैगरी, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने लगायतका निर्णय पनि बैठकले गरेको हो।

प्रवक्ता महतका अनुसार सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी तथा पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग र स्थानीय सडक सञ्जालमा विपद्को गम्भीरताअनुसार आवश्यकता परे सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।

प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखालाई मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी रहेका बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायसँग समन्वय गर्न पनि निर्णय गरिएको छ।

प्रवक्ता महतका अनुसार विपद्को समयमा खोज तथा उद्धार सामग्रीको अभाव हुन नदिन निजी क्षेत्र, संघसंस्था, नागरिक समाज लगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् लगायतलाई प्राधिकरणले अनुरोध गरेको छ।

तीन सय स्थानमा अध्ययन

प्राधिकरणले यस वर्ष वर्षायाममा सम्भावित जोखिम रहेका विभिन्न ३०० स्थानमा भौगोलिक अध्ययन गरेको प्रवक्ता महतले बताइन्।

उनका अनुसार स्थानीय तहको अनुरोधअनुसार प्राधिकरणका प्राविधिक कर्मचारीहरू खटिएर सम्भावित जोखिमबारे भौगोलिक अध्ययन गरिएको हो।

अध्ययनको प्रतिवेदन तयार भइरहेको र केही दिनभित्रै सार्वजनिक गरिने पनि उनले जानकारी दिइन्।