पुराना दलहरूले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेका छन्।
रास्वपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता–कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूको संयुक्त मोर्चा बनाउने तयारी थालेका हुन्।
नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गरेका हुन्। नेकपा कोसी प्रदेशको विराटनगरमा शुक्रबार आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्।
सरकारविरुद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलहरूका नेताहरूसँग आफूले कुराकानी गरिरहेको दाहालले बताए।
‘सरकारविरुद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ,’ उनले भने।
यसै विषयमा विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरिएको उनले बताए। ‘आजै (शुक्रबार नै) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग विराटनगरस्थित उहाँकै निवासमा पुगेर सरकारविरुद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको छ।’
विराटनगरमा पार्टीको कार्यक्रमका लागि आएका संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले शुक्रबार कांग्रेसका नेता कोइरालासँग भेटवार्ता गरेका थिए।
उनीहरूबिच करिब ४५ मिनेट कुराकानी भएको थियो। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा सरकारले धमाधम नेता र व्यवसायीहरू पक्राउ गर्न थालेपछि दलका नेताहरू सशङ्कित बनेका छन्।
हालै मात्र एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेको थियो। यस्तै नेकपानिकट व्यवसायी अजय सुमार्गीको राहदानी पनि रोक्का गरिएको छ।
यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइरालानिकट स्रोतले जानकारी दिएको छ।
व्यवसायी सुमार्गी दाहालनिकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहालको बेचैनी बढेको हुन सक्ने स्रोतको भनाइ छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूसँग पनि नियमित छलफल भइरहेको दाहालले बताए।
‘एमालेसँग चुनावी सहकार्य’
दाहालले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताए। उनले अन्य साना कम्युनिस्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद्, सडक, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताए।
दाहालले नेकपाको एकताको महाधिवेशनबाट क्रमभंगता हुने दाबी गरे। आफूहरूलाई सधैं नेतृत्वमा टाँसिएको आरोप लागिरहेको बताउँदै उनले अब त्यस्तो नहुने बताए।
पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनका भनाइ थियो। ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी नयाँ पार्टी बनाउने रणनीति नेतृत्वले तयार पारिरहेको छ,’ उनले भने।
दाहालले कार्यकर्तालाई ढाडस दिँदै भने, ‘फेरि पनि देशको नेतृत्व गर्ने हामीले नै हो, तपाईंहरू निश्चिन्त हुनुहोस्।’ आगामी महाधिवेशनमा दाहालको अन्तिम क्रमभंगता कस्तो हुन्छ भन्ने हेर्न पनि कार्यकर्तालाई आग्रह गरे।
‘राष्ट्रपतिलाई पद छाड्न दबाब’
रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेललाई पद छाड्न जबर्जस्ती दबाब दिइरहेको संयोजक दाहालको दाबी छ। राष्ट्रपति पौडेल केही दिन पनि टिक्न नसक्ने अवस्था रहेको दाहालले बताए। ‘रास्वपाले राष्ट्रपतिलाई पद छाड्न अस्वाभाविक दबाब दिइरहेको छ,’ उनले भने, ‘मलाई प्राप्त जानकारी अनुसार केही दिन पनि टिक्न सक्ने अवस्था छैन।’
रास्वपा लोकतान्त्रिक र गणतान्त्रिक शक्तिहरूलाई कमजोर बनाएर नवउदारवादी निरंकुश शासनव्यवस्थातर्फ केन्द्रित रहेको आरोप पनि लगाए।
संयोजक दाहालले दुई तिहाइनजिकको बहुमत ल्याएर सरकार बनाएको केही महिनामै जनतालाई आफ्नो असलियत देखाइदिएकोमा धन्यवाद पनि दिए। ‘सरकार गठन भएको केही महिनामै जनतालाई आफ्नो असलियत देखाइदिएकोमा रास्वपालाई धन्यवाद छ,’ उनले भने, ‘रास्वपाको सरकारले सुकुम्बासी, मधेसी, आदिवासी जनजाति, गरिब, सीमान्तकृत जनतालाई आफ्नो असलियत देखाइदिएको छ।’
जनताले बल्ल रास्वपाको असलियत देख्न र भोग्न पनि पाएको बताए। रास्वपाको सरकारले ल्याएको बजेटले गरिब र मध्यमवर्ग नभई सीमित धनाढ्य र मध्ययमवर्गका पनि माथिल्लो तहका जनतालाई मात्रै लाभ पुगेको उनको भनाइ छ।


प्रतिक्रिया