चितवनमा गृहमन्त्री सुधन गुरुङले बिहानको ब्रेकफास्टका क्रममा अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

घटनापछि गरिएको अनुगमनका क्रममा खाद्यान्नको गुणस्तरमा थप कमजोरी भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई कारबाही गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको संयुक्त टोलीले होटलको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा गुणस्तरहीन तेल प्रयोग गरिएको तथा तरकारी ताजा नरहेको पाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी विज्ञप्तिअनुसार उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्य सामग्री प्रयोग गरी सेवा दिएको निष्कर्षसहित होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

प्रशासनले खाद्य स्वच्छता र उपभोक्ता स्वास्थ्यप्रति संवेदनशील रहन सबै होटल तथा व्यवसायीलाई समेत आग्रह गरेको छ।