(सुमन थापा)

काठमाडौ, १०- बैशाख, मेरुदण्ड पक्षघात भएर बिगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षिय माधव गिरीलाई बिभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका बिभिन्न सामग्रीहरु गिरीको घरमै पुगेर हस्तान्त्रण गरेको अभियानका सदस्य आशिष शर्माले जानकारी दिए । 

२०७२ सालको चैतमा घर नजिकै रहेको बारीमा मकै लगाउन खेत जोत्ने क्रममा गोरुले हानेपछि माधवको मेरुदण्डमा गम्भीर चोड लागेको थियो । जसको नतिजा उनलाई मेरुदण्ड पक्षघात नै भयो । अहिले उनी विस्तारामा सुतिरहन्छन, कोल्टो फर्किन समेत कठिन हुने उनलाई उठ्न त झनै मुस्किलको कुरा हो । गिरीको यही अवस्थाको बारेमा बुझेपछि पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी र नेपाली सहयोगी हातका अध्यक्ष निखिलेस पुरीको पहलमा माधवको शरीरलाई सजिलो पार्ने सामग्रीहरु जुटाउने अभियान थालिएको थियो । अभियानका क्रममा एक थान फोल्डिङ प्यासेन्ट बेड, क्याथेटर, यूरीनरी ब्याग, सिरिन्ज, सर्जिकल ग्लोभ्स लगायतका सामग्रीहरु हस्तान्त्रण गरेको थियो ।

सोही अवसरमा पर्वत अस्पतालको तर्फबाट १० थान क्याथेटर, ५ थान युरीनरी ब्याग, एक प्याकेट सिरिन्ज, एक प्याकेट ग्लोभ्स र एक थान कम्बल हस्तान्त्रण गरिएको छ । यस्तै टिकटक मिलीजुली परिवारका संरक्षक रारा सैँजुले फोल्डिङ बेड खरीदका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको पनि कार्यक्रममा जानकारी दिइएको थियो । सामग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै अभियान्ता पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले दुखीरहेको घाउमा मल्हम लगाउनको लागि सहयोग गरेका सहयोगदाताहरुप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । माधवको अवस्थाका बारेमा सबै पर्वतबासी जानकार रहेकोले हरेकले जति सकिन्छ उति सहयोग गरेमा माधव सहित यस्तै अवस्थामा गुज्रिरहेका जिल्लाका अन्य पिडितहरुलाई पनि सहयोग गर्न सकिने उनको भनाई छ । 

‘एउटा मान्छेको आँसु अर्को मान्छेले पुछिदिनु कति आनन्दको कुरा छ । रोईरहेका हरेक मनलाई अर्को मनले हँसाईदिन सक्छ त्यो पनि सानो सहयोगबाट । हामी सबैले जति सकिन्छ उति सहयोग गरौँ ।’ उनले भने, ‘यसरी उठेको सहयोगबाट माधव र माधव जस्तै जिल्लाका अन्य पिडित तथ समस्यामा परेकाहरुलाई सहयोग गर्न सकिन्छ । सहयोग जस्तो ठुलो धर्म अर्को छैन् ।’ सामग्री हस्तान्त्रण कार्यक्रममा समाजसेवीहरु शेषराज रेग्मी र महेश्वर शर्माको पनि सहभागिता रहेको थियो ।

माधवको परिवारमा पाँच जना सदस्य छन् । आफू घाइते हुनु अगाडि दैनिकी काम गरेर उनले नै परिवार चलाउँदै आएकोमा उनी नै बिस्तारामा परेपछि अहिले घर चलाउन नै समस्या भएको छ । यसका लागि पटक पटक जिल्ला सहित जिल्ला बाहिरका र अन्तराष्ट्रिय संस्था तथा दाताहरुले सक्दो सहयोग गर्दै आएका छन् । तर आम्दानीको स्रोत नभएपछि सहयोग त कतिन्जेल पो खप्न सक्थ्यो र ? यही कारण नेपाली सहयोगी हातले माधवलाई सघाउन इच्छुकहरुलाई सधैँभरी पर्खिरहेको बताएको छ । ‘उहाँहरुको घरको अवस्था दयनीय रहेको छ की त्यो कारुणिक अवस्था कसरी नियाल्नु ? हामीको सबैको सहयोगले नै त्यो परिवारलाई आत्मबल दिन सकिन्छ ।’ सहयोगी हातका अध्यक्ष पुरी भन्छन्, ‘यदी सहयोगको लागि कोही पनि इच्छुक भएमा ९८६२११८१०३ वा ९८०५१००३८८ मा फोन गर्न सक्नुहुन्छ ।’