चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनले पुराना तथा ठूला भ्रष्टाचारका घटनाको छानबिन प्रक्रिया अगाडि बढाइएको दाबी गरे।
नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनको प्रतिबद्धतालाई कार्यान्वयन गर्न थालिएको बताए।
उनले २०६३ सालपछि भएका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयको अध्ययन र छानबिनका लागि कार्यदल गठन गरिएको जानकारी दिए।
मन्त्री खनालले भने, “हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता गरेका थियौँ। सरकार गठनपछि त्यसअनुसार कार्यदल बनेको छ र प्रक्रिया अघि बढाइएको छ।”
लामो समयदेखि राज्य सञ्चालन गर्ने शक्तिहरूले प्रभावकारी शासन दिन नसकेको निष्कर्षका आधारमा आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई सरल, छिटो र झन्झटरहित बनाउन प्रविधिमैत्री शासन प्रणालीमा जोड दिइएको बताए।
विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधानलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले विदेशमा समस्या परेमा उक्त एपमार्फत गुनासो दर्ता गर्न सकिने बताए।
उनका अनुसार एपमार्फत प्राप्त गुनासोमा सम्बन्धित नेपाली दूतावाससँग तत्काल समन्वय गरेर समाधानको प्रक्रिया सुरु गरिनेछ।
मन्त्री खनालले सरकारले परिणाममुखी ढंगले काम गरिरहेको दाबी गर्दै निकट भविष्यमा नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन अनुभूति गर्ने अपेक्षा व्यक्त गरे।


प्रतिक्रिया