महिला टी–२० विश्वकप अन्तर्गत समूह–१ को महत्वपूर्ण खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
बर्मिङ्घममा आइतबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रनको बलियो योगफल तयार पारेको हो।
भारतका लागि ओपनर स्मृति मन्धानाले उत्कृष्ट अर्धशतकीय पारी खेलिन्। उनले ४४ बलमा ९ चौका र २ छक्काको मद्दतले ६८ रन जोडेकी छन्। त्यस्तै, कप्तान हरमनप्रित कौरले ३५ बलमा ३६ रन बनाउँदै मध्यम क्रम सम्हालिन् भने ऋचा घोषले अन्त्यतिर विष्फोटक ब्याटिङ गर्दै १७ बलमा ३४ रन जोडेपछि भारत बलियो स्थितिमा पुगेको हो।
अन्य ब्याटरहरू सेफाली वर्मा ६, जेमिमा रोड्रिग्स १ र भारती फुलमाली १ रनमा आउट भएका थिए।
पाकिस्तानका लागि बलिङतर्फ सादिया इकबाल र फतिमा सनाले समान २–२ विकेट लिएका छन्। त्यस्तै, तस्मिया रुबाब र रमीन शमिमले १–१ विकेट आफ्नो नाममा गरे।
जवाफी लक्ष्य पछ्याइरहेको पाकिस्तानले भने कमजोर सुरुवात गरेको छ। समाचार तयार पार्दासम्म पाकिस्तानले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५९ रन मात्र जोड्न सकेको छ।
ओपनर गुल फिरोजा १२ र आयसा जाफर १२ रनमा आउट भए भने सायरा जबीन मात्र २ रनमा पेभेलियन फर्किन्।
भारतका लागि दीप्ती शर्माले कसिलो बलिङ गर्दै २ ओभरमा ५ रन खर्चेर २ महत्वपूर्ण विकेट झारेकी छन्। अहिले क्रिजमा मुनिबा अली २९ रन बनाएर संघर्ष गरिरहेकी छन्।
पाकिस्तानलाई जितका लागि अब ७२ बलमा ११२ रनको आवश्यकता छ। खेलमा भारतको जित्ने सम्भावना ८७ प्रतिशतभन्दा बढी रहेको दाबी गरिएको छ।


प्रतिक्रिया