पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।
रास्वपाको नेतृत्वमा सरकार बनेको सय दिन पनि नपुग्दै अस्थिरताको खेल सुरु हुन लागेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले देशको राजनीति पुनः पुरानै ‘दन्तबझान’ मा अल्झिन थालेको टिप्पणी गरे। संसद् अवरुद्ध हुने र जनताका आधारभूत एजेण्डाहरू अलपत्र पर्ने सङ्केत देखिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ।
‘नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद् अवरुद्ध हुने र आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने सङ्केत देखिनु विडम्बनापूर्ण छ,’ भट्टराईले लेखेका छन्।
उनले अब कसैलाई पनि मुलुकमा अस्थिरताको खेल खेल्ने र देशलाई गरिबी तथा बेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट नभएको चेतावनी दिए।
सरकारको आलोचना गर्ने अधिकार सबैलाई भए पनि उसलाई काम गर्नबाट रोक्न नहुने उनको तर्क छ। ‘सरकारका गल्ती कमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ,’ उनले भनेका छन्, ‘उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।’
नेपाली राजनीतिमा अब पुस्तान्तरण भइसकेको उल्लेख गर्दै भट्टराईले राजनीति फेरि पुरानै बाटोमा फर्कने सम्भावना नरहेको प्रस्ट पारे।
पुराना दलहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘हेक्का रहोस्, पुस्तान्तरण भइसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।’


प्रतिक्रिया