​धनुषा, ११ जेठ ।
धनुषा जिल्लास्थित श्री आधारभूत विद्यालय धनौजी लालगढका ६२ जना विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच शैक्षिक सामग्री, ट्रयाकसुट र छाला जुत्ता वितरण गरिएको छ। मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो।


​विगत लामो समयदेखि निःस्वार्थ रूपमा सामाजिक सेवामा समर्पित व्यक्तित्व एवं मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानकी संरक्षक रारा सैंजु (रेखा) को शुभ जन्मोत्सवको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो। तडकभडक र फजुल खर्च गरेर जन्मदिन मनाउने आधुनिक प्रचलनलाई निरुत्साहित गर्दै समाजसेविका सैंजुले ग्रामीण क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा टेवा पुऱ्याउने उद्देश्यले आफ्नो जन्मदिनलाई सेवाको रूपमा मनाउने निर्णय गरेकी हुन्।

​रारा सैंजु: देशका कुना–काप्चा पुग्ने एक अभियन्ता !
​दुवै सहयोगी संस्थाको मुख्य खम्बा र संरक्षकको रूपमा रहेकी रारा सैंजुको नेतृत्व र सद्भावका कारण विगत लामो समयदेखि देशका विभिन्न दुर्गम क्षेत्रमा परोपकारी कार्यहरू हुँदै आएका छन्। बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई तत्काल राहत पुऱ्याउन होस् या गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न, सैंजु आफैँ फिल्डमा खटिएर उदाहरणीय कार्य गर्दै आएकी छिन्।
​उनकै संरक्षकत्वमा संस्थाहरूले दुर्गम गाउँहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, भोकमरीको चपेटामा परेकाहरूलाई खाद्यान्न वितरण गर्ने र पिछडिएका समुदायका बालबालिकालाई विद्यालयसम्म डोऱ्याउने अभियान निरन्तर चलाइरहेकी छन्।
​”रारा सैंजुज्यूको जन्मदिवसलाई एउटा उत्सवका रूपमा मात्र नभई सामाजिक रूपान्तरण र सेवाको अवसरका रूपमा मनाउन हामीले यो कार्यक्रम धनुषामा राखेका हौँ। उहाँको यही सेवाभावले हामीलाई सधैँ दुर्गमका नागरिकको सुख-दुःखमा जोडिन ऊर्जा दिन्छ,” – कार्यक्रमका संयोजकले बताए।

​६२ बालबालिकामा छायो खुसी…
​विद्यालयमा अध्ययनरत कुल ६२ जना विद्यार्थीहरूलाई विद्यालय पोसाकको रूपमा ६२ जोर ट्रयाकसुट, ६२ जोर छालाको जुत्ता, कपि, कलम र अन्य आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ। दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको हो।
​विद्यालयको पोसाक, जुत्ता र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै हर्षित देखिएका थिए भने अभिभावकहरूले पनि संरक्षक सैंजुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै धन्यवाद व्यक्त गरेका छन्।
​विद्यालयका प्रधानाध्यापकले सहयोगी संस्थाहरू र विशेष गरी संरक्षक रारा सैंजुप्रति आभार प्रकट गर्दै भन्नुभयो, “यस्ता परोपकारी कार्यक्रमले आर्थिक अभावकै कारण विद्यालय आउन गाह्रो मान्ने विद्यार्थीहरूको उपस्थिति दर बढाउन र उनीहरूको मनोबल उच्च राख्न ठुलो मद्दत पुग्नेछ। जन्मदिनको अवसरमा गरिएको यो पवित्र कार्य निकै सराहनीय छ।”