राज्यले विद्यालय विस्तार, निःशुल्क शिक्षा, साक्षरता अभियान र शिक्षामा पहुँच बढेको दाबी गरिरहँदा जुम्ला को पछिल्लो तथ्यांकले भने फरक यथार्थ उजागर गरेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका हजारौँ नागरिक अझै पढ्न–लेख्न नसक्ने अवस्थामा छन्। अझ गम्भीर पक्ष, पुरुष र महिलाबीचको साक्षरताको खाडल अहिले पनि गहिरो देखिएको छ।

जिल्लाका अधिकांश स्थानीय तहमा पुरुष साक्षरता दर ७० देखि ८० प्रतिशतभन्दा माथि पुगेको छ। तर महिलाको साक्षरता दर अझै ५० देखि ६५ प्रतिशतको सीमाभित्र छ। यसले शिक्षा पहुँचमा लैंगिक समानता अझै स्थापित हुन नसकेको स्पष्ट देखाउँछ।

चन्दननाथ नगरपालिका जिल्लामै तुलनात्मक रूपमा अगाडि देखिए पनि अवस्था पूर्ण सन्तोषजनक छैन। राष्ट्रिय जनगणना २०७८ अनुसार ५ वर्ष र सोभन्दा माथिको कुल जनसंख्या १९ हजार ५ सय ३ मध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ७७.५८ प्रतिशत छ। जसमध्ये महिला ६७.८१ प्रतिशत र पुरुष ८७.७४ प्रतिशत छन्। पढ्न मात्र सक्ने ०.४९ प्रतिशत छन् भने पढ्न र लेख्न दुवै नसक्ने २१.८५ प्रतिशत छन्।

पातारासी गाउँपालिका मा कुल १५ हजार २ सय ३६ जनसंख्यामध्ये पढ्न र लेख्न सक्ने साक्षरता दर ६४.५३ प्रतिशत छ। जसमध्ये पुरुष ७३.४३ प्रतिशत र महिला ५६.०६ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.५९ प्रतिशत र दुवै नसक्ने ३४.५८ प्रतिशत छन्।

कनकासुन्दरी गाउँपालिका भित्र कुल १२ हजार ३ सय ७४ जनसंख्यामध्ये पढ्न–लेख्न सक्ने साक्षरता दर ६८.२७ प्रतिशत छ। पुरुष ७७.८१ प्रतिशत र महिला ५९.११ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.५८ प्रतिशत र दुवै नसक्ने ३०.७२ प्रतिशत छन्।

सिंजा गाउँपालिका को कुल जनसंख्या ११ हजार ३ सय ९४ छ। उक्त गाउँपालिकामा पढ्न–लेख्न सक्ने साक्षरता दर ६१.२० प्रतिशत छ। पुरुष ६८.५६ प्रतिशत र महिला ५३.६२ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.४५ प्रतिशत र दुवै नसक्ने ३६.२९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

गुठिचौर गाउँपालिका मा कुल ९ हजार ९ सय ३३ जनसंख्यामध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ६९.१९ प्रतिशत छ। जसमा पुरुष ७९.०८ प्रतिशत र महिला ५९.७१ प्रतिशत छन्। पढ्न मात्रै सक्ने १.६१ प्रतिशत देखिन्छ भने पढ्न र लेख्न नसक्ने २८.५६ प्रतिशत छन्।

तातोपानी गाउँपालिका मा कुल १४ हजार २ सय ५० जनसंख्याको साक्षरता दर ७०.२७ प्रतिशत छ। पुरुष ७८.४० प्रतिशत र महिला ६२.४२ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.५२ प्रतिशत छन् भने दुवै नसक्ने २९.१२ प्रतिशत छन्।

तिला गाउँपालिका मा १३ हजार २९ जनसंख्यामध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ७१.६९ प्रतिशत छ। पुरुष ७९.०३ प्रतिशत र महिला ६४.५५ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.८६ प्रतिशत र दुवै नसक्ने २७.३५ प्रतिशत छन्।

हिमा गाउँपालिका को कुल १० हजार ८ सय ४७ जनसंख्यामध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ७२.७३ प्रतिशत छ। पुरुष ८०.०८ प्रतिशत र महिला ६५.४० प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.८३ प्रतिशत छन् भने पढ्न र लेख्न दुवै नसक्ने २६.३१ प्रतिशत छन्।

तथ्यांकले देखाएको यो अवस्था केवल शैक्षिक यथार्थ मात्र नभई जुम्लाको सामाजिक चित्र पनि हो। विद्यालय भवन थपिए, पाठ्यपुस्तक पुगे र नीतिमा शिक्षा प्राथमिकतामा परे पनि गाउँका धेरै महिलासम्म अक्षर पुग्न सकेको छैन।

गरिबी, बालविवाह, घरेलु श्रम, चेतनाको कमी र दुर्गम बस्तीमा कमजोर शैक्षिक पहुँचका कारण महिला शिक्षा अझै पछाडि परेको देखिन्छ। धेरै परिवारमा छोरा विद्यालय पठाउने तर छोरीलाई घरको जिम्मेवारीमा राख्ने परम्परागत सोच अझै कायम रहेको स्थानीयको भनाइ छ। त्यसको प्रत्यक्ष असर साक्षरता दरमा देखिएको छ।

विशेषगरी सिंजा गाउँपालिका र पातारासी गाउँपालिका जस्ता पालिकामा एकतिहाइभन्दा बढी नागरिक अझै पढ्न–लेख्न नसक्ने अवस्थामा हुनु राज्यको शिक्षा नीतिमाथिको गम्भीर प्रश्न भएको सरोकारवालाहरू बताउँछन्।

साक्षरता दर बढ्नु केवल विकासको सूचक मात्र नभई अवसर, चेतना र आत्मनिर्भरताको आधार पनि हो। तर जुम्लाको पछिल्लो तथ्यांकले शिक्षा पहुँचको यात्रा अझै अधुरो रहेको संकेत गरेको छ।

यद्यपि २०८१ मंसिर ११ गते जुम्ला लाई साक्षर जिल्लाका रूपमा घोषणा गरिएको थियो। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक सार्वजनिक गरिएको थियो। राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ।

तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ। हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने र आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा हुनुपर्ने प्रावधान छ।

तथ्यांकअनुसार हिमा गाउँपालिका मा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिका मा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिका मा ९७.०० प्रतिशत, सिंजा गाउँपालिका मा ९५.५ प्रतिशत, पातारासी गाउँपालिका मा ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिका मा ९५.७७ प्रतिशत, तिला गाउँपालिका मा ९५.४ प्रतिशत र गुठिचौर गाउँपालिका मा ९५.७३ प्रतिशत नागरिक साक्षर भएको विवरण सार्वजनिक गरिएको थियो।

देवेन्द्र बहादुर शाही र गौरीनन्द आचार्य ले संयुक्त रूपमा जुम्लालाई साक्षर जिल्ला घोषणा गरेका थिए।