चाँगुनारायण मन्दिर घुम्न आउने पर्यटकबाट स्थानीयले अपेक्षित लाभ लिन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत उक्त मन्दिरमा आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका कारण स्थानीय अर्थतन्त्रमा खास प्रभाव नपरेको उनीहरूको भनाइ छ।

सोमबार चाँगुनारायण नगरपालिका वडा नं. ४ ले आयोजना गरेको वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले वडा तथा नगरपालिकाले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

स्थानीयका अनुसार मन्दिर अवलोकनका लागि आउने विदेशी पर्यटकमध्ये एक प्रतिशतले पनि रात नबिताउने अवस्था छ। दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भए पनि उनीहरू स्थानीय होटलमा नबस्ने, स्थानीय उत्पादन नकिन्ने र यहाँको अर्थतन्त्रमा खर्च नगर्ने गुनासो स्थानीयवासीले गरेका हुन्।

स्थानीय व्यवसायीहरूका अनुसार अधिकांश विदेशी पर्यटक बिहान काठमाडौं बाट आउने, मन्दिर अवलोकन गर्ने र केही समयमै फर्किने गर्छन्।

‘पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन्। यहाँको होटल, हस्तकला, कृषि उत्पादन वा स्थानीय खानामा खर्च नै हुँदैन,’ स्थानीय व्यवसायीहरूको सामूहिक भनाइ थियो।

स्थानीयले मन्दिरको उचित संरक्षण नभएको तथा पूर्वाधार व्यवस्थापन कमजोर रहेको गुनासो समेत गरे। मन्दिर पुग्ने बाटो साँघुरो भएकाले ठूला सवारीसाधनबाट पर्यटक ल्याउन समस्या भएको उनीहरूको भनाइ छ।

उनीहरूले चाँगुनारायण क्षेत्रमा पर्यटकलाई रात बस्न आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न, सांस्कृतिक गतिविधि बढाउन, होमस्टे प्रवर्द्धन गर्न, स्थानीय परिकार र हस्तकलाको बजार व्यवस्थापन गर्न माग गरेका छन्। अहिलेको पर्यटन ‘घुम्ने मात्रै, खर्च नगर्ने’ प्रकारको भएकाले स्थानीय अर्थतन्त्रमा प्रभाव न्यून भएको उनीहरूको निष्कर्ष छ।

पर्यटन व्यवसायीसँगै स्थानीय जनप्रतिनिधिहरूले पनि चाँगुनारायणलाई केवल धार्मिक तथा ऐतिहासिक गन्तव्यका रूपमा मात्र नभई सांस्कृतिक बसाइँ केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

उनीहरूका अनुसार व्यवस्थित पदमार्ग, सांस्कृतिक प्रस्तुति, स्थानीय गाइड तथा रात्रीकालीन गतिविधि सञ्चालन गर्न सके पर्यटकको बसाइँ अवधि बढाउन सकिन्छ।

तथ्यांकअनुसार नेपाल भित्रिने कुल पर्यटकमध्ये झण्डै २५ प्रतिशत पर्यटक भक्तपुर भ्रमणमा पुग्ने गरेका छन्। भक्तपुर आउने पर्यटकमध्ये पनि निकै थोरै पर्यटक मात्रै चाँगुनारायण मन्दिर र नगरकोट भ्रमणमा जाने गरेको बताइन्छ।

चाँगुनारायण नगरपालिका ले ठेक्का प्रणालीमार्फत् मन्दिर भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ। सार्क राष्ट्रका (नेपालीबाहेक) पर्यटकसँग प्रतिव्यक्ति ३०० रुपैयाँ र गैर-सार्क राष्ट्रका पर्यटकसँग ४०० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ। यसबाट वार्षिक झण्डै एक करोड रुपैयाँ संकलन हुने जनाइएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा चक्रधरानन्द राजोपाध्याय ले मन्दिर वरपरका सार्वजनिक पाटी–पौवा निजीकरण हुँदै गएको, विद्युत् सेवा काटिएको तथा पर्याप्त सुरक्षा नपाएको विषयमा वडा अध्यक्षको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा आयोजक चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोजबहादुर तामाङले स्थानीयवासीका गुनासोबारे स्पष्ट पार्ने प्रयास गरेका थिए।