सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ।

गंगा दशहराको अवसरमा खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने मेलाले यति बेला चार जिल्लाका बासिन्दासँगै देश विदेशका भक्तजनलाई पनि आकर्षित गरिरहेको छ।

हरियाली लेक, शीतल हावा र त्रिवेणी धाममा गुन्जिने भक्तजनहरूको जय घोषले खप्तड क्षेत्रलाई आध्यात्मिक उत्सवमा परिणत गरेको छ।

हरेक वर्ष जेठ शुक्ल दशमीका अवसरमा लाग्ने गंगा दशहरा मेलामा यस पटक पनि हजारौं श्रद्धालु तथा पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बच्चादेखि वृद्धसम्मका भक्तजन त्रिवेणी धाम पुगेर स्नान, पूजाआजा र धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

त्रिवेणी मन्दिरका पुजारी ओम प्रकाश जोशीका अनुसार खप्तड केवल धार्मिक स्थल मात्र नभई चार जिल्लाको साझा आस्था र संस्कृतिको केन्द्र हो।

उनी भन्छन्, ‘खप्तड केवल एउटा मेला होइन, यो चार जिल्लाको आस्था, संस्कृति र प्रकृतिको साझा संगम हो। यहाँ आउने भक्तजनले त्रिवेणीमा स्नान गरी आत्मिक शान्तिको अनुभूति गर्छन्।’

उनले थप सुनाए, ‘परापूर्व कालदेखि नै मानिसहरू यहाँ पितृहरूको उद्धार र धार्मिक कार्यका लागि आउने गरेका हुन्। अहिले प्रचार-प्रसार बढेसँगै नेपालका विभिन्न जिल्लासहित विदेशबाट समेत भक्तजन आउन थालेका छन्।’

उनका अनुसार गंगा दशहराको दिन त्रिवेणीमा स्नान गर्दा पाप पखालिने जनविश्वास रहेको छ। ‘यहाँ गंगा, यमुना र सरस्वतीको संगम मानिन्छ,’ पुजारी जोशी भन्छन्, ‘भक्तजनले त्रिवेणीमा स्नान गरेर आत्मिक शान्ति र आशीर्वादको अनुभूति गर्ने गर्छन्।’

खप्तड क्षेत्रमा ५० वर्षसम्म तपस्या गरेका खप्तड बाबाको योगदानले यस क्षेत्रको धार्मिक महत्त्व अझ बढाएको स्थानीयहरू बताउँछन्। उनकै प्रेरणा र तत्कालीन राजाहरूको सहयोगमा वि.सं. २०३८ सालमा त्रिवेणी क्षेत्रमा मन्दिर निर्माण गरिएको मानिन्छ।

चार दिनसम्म चल्ने मेलामा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोडा दौड, देउडा नाच तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने छन्। उक्त कार्यक्रमहरूले मेलालाई थप आकर्षक बनाउने अपेक्षा छ।

त्रिवेणी धामबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको महादेव मन्दिर, खप्तड बाबाको आश्रम र सीता पाइला लगायतका धार्मिक स्थलहरू पनि भक्तजनको आकर्षण बनेका छन्

खप्तडको शान्त वातावरण, फाँटभरि फुलेका फूल, लेकाली सुगन्ध र भक्तजनहरूको जय घोषले यति बेला त्रिवेणी धाम रौनकले भरिएको छ। आस्था, संस्कृति र प्रकृतिको अनुपम संगम बनेको खप्तडको गंगा दशहरा मेला सुदूर पश्चिमको मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ।