अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा महानगरपालिकालाई दुईतले भवनसहित ४ रोपनी जमिन फिर्ता गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट उक्त मजदुर संगठनले २०६७ सालदेखि उपयोग गर्दै आएको पोखरा पृथ्वीचोकस्थित जग्गा शनिबार औपचारिक रूपमा महानगरलाई हस्तान्तरण गरेको हो ।
रुद्र गौतमले कार्यक्रममार्फत धनराज आचार्यलाई भवनको चाबी र जग्गासम्बन्धी कागजात हस्तान्तरण गरेका थिए ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको यातायात कार्यालय अगाडिको उक्त ४ रोपनी जमिन मजदुर संगठनले मौखिक सहमतिमा उपयोग गर्दै आएको थियो । सोही स्थानमा संगठनले करिब ५३ लाख रुपैयाँ खर्च गरेर दुईतले १३ कोठे भवन निर्माण गरी लामो समयदेखि प्रयोग गर्दै आएको थियो । भवनबाट भाडासमेत उठाइँदै आएको बताइएको छ ।
संगठनका नेताहरूका अनुसार एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) र कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस ले पनि सार्वजनिक जग्गामा कार्यालय निर्माण गरेपछि आफूहरूले पनि त्यही अभ्यास पछ्याएको बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले श्रमिकहरूको पसिना र सहयोगबाट बनेको भवन राज्यले सदुपयोग गरोस् भन्ने उद्देश्यले महानगरलाई बुझाइएको बताए । “यसलाई भत्काएर फाल्नुभन्दा राज्यले नै संरक्षण र सदुपयोग गरोस् भनेर हस्तान्तरण गरेका हौं,” उनले भने ।
महानगर प्रमुख आचार्यले मजदुर संगठनले सार्वजनिक सम्पत्ति फिर्ता गरेर उदाहरणीय काम गरेको बताए । उनले सार्वजनिक जग्गा संरक्षण अभियानमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्दै अन्य संघ–संस्थालाई पनि यस्तो कार्यबाट प्रेरणा लिन आग्रह गरे । साथै, महानगरले उक्त भवनको संरक्षण र सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
संगठनले हस्तान्तरण गरेको १३ कोठे भवन सरकारी कार्यालय सञ्चालनका लागि उपयुक्त रहेको बताइएको छ । विशेषगरी पोखरा महानगरपालिका वडा नम्बर–९ कार्यालय का लागि भवन उपयोग गर्न सकिने सुझावसमेत दिइएको छ ।
यसअघि संगठनले मुख्य भवनबाहेकका अस्थायी संरचना र सभाहल डोजर लगाएर हटाइसकेको थियो । पोखरा महानगरपालिका ले फिर्केखोला, पोखरा बसपार्कलगायत क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गरेपछि संगठनले संरचना हटाएर भवनको चाबी बुझाएको हो ।
महानगरले दिएको पछिल्लो अल्टिमेटम शनिबार सकिएको छ । अब आइतबारदेखि अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाउने तयारी गरिएको छ । मेयर आचार्य निकट स्रोतका अनुसार यसको सुरुवात फिर्केखोलाको खोलाघर क्षेत्रमा बनेका संरचना हटाएर गरिनेछ । त्यसका लागि डोजर तयारी अवस्थामा राखिनुका साथै महानगर प्रहरी र नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा बस्न निर्देशन दिइएको बताइएको छ ।


प्रतिक्रिया