काठमाडौं जेठ ९ गते, शनिवार तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुग्नुभएको छ। जेठ ८ गते बिहीबार अस्पताल पुगेर उहाँहरूले बिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो। गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा भइसके तापनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति पूर्वगृहमन्त्री गुरुङको आत्मीयता र चासो उत्तिकै प्रगाढ देखिएको छ।

नेपाली संस्कार र परम्परालाई आत्मसाथ गर्दै उहाँ बिरामी प्रहरी जवानहरूलाई भेट्न फलफूल र पौष्टिक आहारसहित अस्पताल पुग्नुभएको थियो। पदमा रहँदा मात्र नभई पदबाहिर रहँदा पनि सुरक्षा संगठन र यसका जनशक्तिप्रति उहाँले देखाउनुभएको यो सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी र बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन्।