नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् ।
घोषित टोलीमा इशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन् । उनले यसअघि सन् २०१९ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उक्त खेलमा उनी ८ बलमा ४ रन बनाएर आउट भएका थिए ।
प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका पाण्डेले नेपाल ‘ए’ टोलीबाट स्कटल्याण्ड र अमेरिकाविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए । यद्यपि, उनले अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यु गरेका छैनन् ।
प्रतियोगिता मे १२ देखि २२ सम्म काठमाडौंस्थित टियु क्रिकेट मैदान मा सञ्चालन हुनेछ । यसअघि ओमान र यूएईविरुद्धको सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित हात पारेको थियो ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, इशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।


प्रतिक्रिया