जुम्लाको दुर्गम भूगोलमा खेल मैदान कम छन्, खेल सामग्री सीमित छन् र प्रशिक्षकको अभाव अझै उस्तै छ। तर त्यही अभावबीच यहाँका किशोर–किशोरीहरू दौडिरहेका छन्—कहिले विद्यालयको चौरमा, कहिले उकालो–ओरालो बाटोमा, त कहिले गाउँकै खुला मैदानमा।

त्यही संघर्ष र निरन्तर अभ्यासको प्रतिफल बनेको छ १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा हिमा गाउँपालिका ले हासिल गरेको ऐतिहासिक सफलता।

हिमा गाउँपालिका–२ ओदीस्थित नेत्रज्योति माध्यमिक विद्यालय (प्राविधिक) मा शुक्रबार सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा हिमाले २५ स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगिताभर एथलेटिक्सदेखि भलिबल, कबड्डी, हाईजम्प, लङजम्प तथा विभिन्न ट्र्याक इभेन्टसम्म हिमाका खेलाडीले निरन्तर दबदबा बनाए।

हिमाको सफलता केवल पदकमा सीमित छैन। यसले ग्रामीण विद्यालयहरूमा लुकेका प्रतिभा उजागर गरेको छ। आर्थिक अभाव, पोषण समस्या र खेल पूर्वाधारको कमीका बाबजुद विद्यार्थीहरूले गरेको प्रदर्शनले जुम्लामा खेलकुदको बलियो सम्भावना रहेको संकेत दिएको छ।

प्रतियोगितामा चन्दननाथ नगरपालिका ले १४ स्वर्णसहित दोस्रो स्थान प्राप्त गरेको छ भने पातारासी गाउँपालिका पाँच स्वर्णसहित तेस्रो बनेको छ। कनकासुन्दरी गाउँपालिका चौथो, सिंजा गाउँपालिका पाँचौँ, तिला गाउँपालिका छैटौँ र तातोपानी गाउँपालिका सातौँ स्थानमा सीमित रहे। जुम्लाका आठ स्थानीय तहमध्ये गुठिचौर गाउँपालिका भने प्रतियोगितामा सहभागी भएन।

हिमाका स्थानीय युवा धिरेन्द्रबहादुर रोकायाका अनुसार राष्ट्रपति रनिङ शिल्ड ग्रामीण विद्यालयका विद्यार्थीका लागि खेल प्रतियोगिता मात्र होइन, आफ्नो क्षमता देखाउने दुर्लभ अवसर पनि हो।

“धेरै विद्यार्थी पहिलो पटक यस्ता ठूलो प्रतियोगितामा खेल्छन्,” उनले भने, “उनीहरूमा जितभन्दा पनि आफूलाई प्रमाणित गर्ने भोक देखिन्छ।”

जुम्लाका अधिकांश विद्यालयमा नियमित प्रशिक्षण, खेल मैदान र खेल सामग्रीको अभाव छ। कतिपय खेलाडीले सामान्य जुत्तासमेत बिना प्रतिस्पर्धा गर्नुपर्ने अवस्था अझै कायम छ। तर कठिनाइबीच पनि विद्यार्थीहरूको उत्साह भने कमजोर देखिँदैन।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन घनश्याम भण्डारी ले गरेका थिए। उद्घाटन समारोहमा उनले कर्णालीमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीय तहले खेल पूर्वाधार निर्माण र प्रतिभा पहिचानमा लगानी बढाउनुपर्ने बताएका थिए।

प्रतियोगिता वैशाख २२ गते मंगलबारदेखि सुरु भएको थियो ।