प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौंको एक ज्वेलर्समा भएको लुटपाट प्रयासलाई आफ्नो साहस र आत्मविश्वासले असफल बनाउने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमका बीच शाक्यलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको हो।

काठमाडौं महानगरपालिका-२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुईजना हतियारधारी व्यक्तिले लुटपाटको प्रयास गरेका थिए।

ज्वेलर्समा कार्यरत काठमाडौं-२२ वटुकी बासिन्दा शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी पेस्तोल देखाएर आतंक सिर्जना गर्ने लुटेराविरुद्ध डटेर प्रतिकार गरेकी थिइन्।

उनको सोही साहस र नागरिक दायित्वको उच्च कदर गर्दै प्रहरीले सम्मान गरेको हो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले विषम परिस्थितिमा शाक्यले देखाएको अदम्य साहस र जिम्मेवारीबोधको प्रशंसा गरे।

उनले सभ्य र सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरीको साझेदारीपूर्ण भूमिका महत्त्वपूर्ण हुने चर्चा गरे।

‘अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकबीचको सहकार्यले ठुलो अर्थ राख्छ,’ महानिरीक्षक कार्कीले भने, ‘आगामी दिनमा पनि नागरिकसँग आवश्यक समन्वय गर्दै प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।’

प्रहरीका अनुसार शाक्यले घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सीसीटीभी फुटेज समयमै उपलब्ध गराउन विशेष सक्रियता देखाएकी थिइन्। कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानका लागि शीघ्र सूचना र प्रविधिको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा उनले आम नागरिकलाई सुसूचित गराउन खेलेको भूमिका प्रशंसनीय रहेको प्रहरीको ठहर छ।

सो अवसरमा सम्मानित व्यक्तित्व शाक्यले लुटपाट प्रयासको समयमा आफूले भोगेको अनुभव र घटनाको वस्तुस्थितिबारे आफ्नो मन्तव्य व्यक्त गरेकी थिइन्।

शाक्यले देखाएको साहसले सम्भावित ठुलो धनजनको क्षति टर्नुका साथै समाजमा अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ।

विशेष समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी), नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।