उच्च अदालत पाटनले ‘लालीबजार’ चलचित्र प्रदर्शनको लागि सेन्सर बोर्डले अनुमति दिएको सक्कल फाइल माग गरेको छ ।

अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै सेन्सर बोर्डले प्रदर्शनको लागि अनुमति दिएको सक्कल फाइल माग गरेको हो ।

वादी समुदायको तर्फबाट डा. रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिटमाथि मंगलबार बहस भएको थियो । बहसमा दुवै पक्षका वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरे।

लालीबजारका वकिलहरूले चलचित्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र जाँच समितिबाट सेन्सर पास भैसकेको तथ्यलाई आधार मानेर बहस गरेका थिए। अदालतले सेन्सर बोर्डको आदेशको सक्कल फाइल बुधबारको लागि माग गरेको छ।

अदालतले अर्को पेसी बुधबारलाई तोकेको छ। सुनुवाइको क्रममा नायिका स्वस्तिमा खड्का, लेखक तथा निर्देशक यम थापा, कलाकार रवीन्द्र सिंह बानियाँ लगायतका कलाकर्मी उपस्थित थिए।