प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको नाममा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीमार्फत सञ्चालित तथा पालिखे परिवारद्वारा स्थापित सो सम्मानबाट अग्रज पत्रकार द्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका हुन्। पोखरामा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मालगायतले सम्मान गरे। पुरस्कारको राशि जनही एक लाख ११ हजार १११ नगदसहित दोसल्ला र ताम्रपत्र रहेको छ।

सम्मानित बस्नेत राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादक पदमा कार्यरत छन्। विगत तीन दशकदेखि पत्रकारिता गर्दै आएका बस्नेतले साठीको दशकमा पोखरामा बसेर पत्रकारिता गरेका थिए। उनले खासगरी राजनीतिक बिटमा कलम चलाउँदै आएका छन्।

अर्का सम्मानित बराल अन्नपूर्ण दैनिक र बीबीसी नेपाली सेवामा कार्यरत छन्। करिब तीन दशकदेखि नै पत्रकारिता गर्दै आएका बरालले वातावरण, पर्यटन, चरा र त्यसमा पनि गिद्ध संरक्षणसम्बन्धी विषयमा कलम चलाउँदै आएका छन्।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारिताले समाजलाई मार्गनिर्देशन प्रदान गरेको बताए। “पत्रकारिता पेशा मात्र होइन,” उनले भने, “यो त राष्ट्रको चौथो अंगका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मेवारी बोकेको पेशा हो। त्यसैले यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रूपमा लिनुपर्छ।” उनले विगतका राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसासमेत गरे। “सत्य, निष्पक्ष र उत्तरदायित्व वहन गर्दै सही सूचना प्रवाह गर्ने पत्रकारिता जगत राज्य र नागरिकबीचको सेतु हो,” उनले थपे, “जसले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ।”

जनही एक लाख ११ हजार १११ नगदसहित सम्मानित पत्रकारद्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई बधाई ज्ञापन गर्दै उनले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेले प्रजातन्त्रको स्थापना र संवर्द्धनमा पुर्‍याएको योगदानको स्मरण पनि गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद रेग्मीले स्वागत तथा सचिव भूपाल गुरुङले सञ्चालन गरेका थिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पत्रकारिता अहिले चुनौतीको चरणमा रहेको बताए। प्रेस युनियन कास्कीका सभापति वासुदेव मिश्रले पत्रकारितामा देखिएको संकट टार्न पत्रकार आफैंले आफूलाई बदल्दै कलम चलाउन आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता पेशालाई मर्यादित बनाउन महासंघले भूमिका खेलिरहेको उल्लेख गरे।