आध्यात्मिक गुरु श्री सत्य साइबाबाले आफ्नो दिव्य सन्देशमा भन्नुभएको छ – शिक्षा व्यापारमुखी होइन, शिक्षा जीवनोपयोगी हुनुपर्दछ। जीवनोपयोगी अर्थात् सत्य, धर्म, प्रेम, शान्ति र अहिंसा जस्ता मानवीय मूल्यका कुराहरू समेटिएको नैतिक शिक्षाले मात्र मानिसलाई सही मार्गमा डोर्याउन सक्तछ। उहाँ भन्नुहुन्छ – मानव जीवनको प्रारम्भिक चरण बाल्यकाल भएको हुँदा यस्तो शिक्षा बाल्यकालबाटै शुरू गर्नुपर्दछ।
वास्तवमा बालबालिकाहरूमा सानै उमेरबाट असल चरित्रको जग बसाल्नु नै नैतिक वा आध्यात्मिक शिक्षाको मुख्य उद्देश्य हो। यद्यपि आजका कतिपय विद्यार्थीले नैतिक शिक्षा ग्रहण गरी आफ्नो उज्ज्वल भविष्य निर्माणतर्फ लाग्नुभन्दा राजनीति, हड्ताल, जुलुस, प्रदर्शन, तोडफोड, नशालु पदार्थ जस्ता अनावश्यक र अनुत्पादक वादविवादमा नै आफ्नो बढी समय खर्चिने गरेको पाइन्छ। विद्यार्थीको मात्र के कुरा? कतिपय शिक्षकवर्ग समेत आफ्नाे शिक्षण पेशामा भन्दा राजनीतिक गतिविधिमा नै बढी संलग्न रहने गरेको पाइन्छ। परिणामतः शिक्षक र विद्यार्थीकाे अहिले जुन किसिमको आत्मीय सम्बन्ध अथवा हार्दिकता रहनुपर्ने हो, त्यो देखिँदैन। बरु उल्टो विद्यार्थीले आफूले आदरसत्कार गर्नुपर्ने शिक्षकप्रति नै मुखमुख लाग्ने, अझ त्यस्तै परे मुक्कै बजार्ने र शिक्षकले पनि विद्यार्थीप्रति प्रेम, स्नेह दर्शाउनुको साटो पाए विद्यालय हातामै भकुर्ने दृष्यपरिदृष्य बेलाबखत देखिने गरेको छ। यो अत्यन्त दुःखद् कुरा हो। त्यसकारण जबसम्म विद्यालयको पाठ्यपुस्तकमा नैतिक शिक्षा समावेश गरिँदैन अर्थात नैतिक शिक्षालाई अध्ययन र अध्यापनको विषय बनाइँदैन, तबसम्म हामी न एउटा असल नागरिकको अपेक्षा राख्न सक्तछौँ न त असल समाजको नै परिकल्पना गर्न सक्तछौं।
वास्तवमा आज हाम्रो मुलुकमा एउटा कुशल र इमान्दार नेता जन्मन नसक्नुको एउटा प्रमुख कारण पनि नैतिक शिक्षाकै अभाव हो भनेर मान्न सकिन्छ। अब जुन व्यक्तिको बायोडाटा नै ढुङ्गा हान्ने र रेलिङ भत्काउने छ भने उ कसरी भोलि गएर एउटा असल नेता बन्न सक्छ? निम रोपेर कहाँ आँप कसरी फलाउन सकिन्छ?
निश्चित रूपमा आजको युगमा हामीलाई आधुनिक शिक्षाको पनि आवश्यकता पर्दछ। हामीलाई भौतिक सुखसुविधा प्राप्त गर्न र सांसारिक ज्ञान हासिल गर्न आधुनिक शिक्षा चाहिन्छ। कुनै व्यक्तिलाई आफ्नो जीवन निर्वाहका लागि भौतिक सुविधा र त्यसका लागि व्यवसायिक ज्ञान पनि जरुरी हुन्छ। अतः शिक्षाको एक प्रमुख उद्देश्य इञ्जिनियर, डाक्टर, वकील तथा अन्य व्यावसायिक अथवा पेशागत जनशक्ति उत्पादन गर्नु पनि हो तर हामीले आधुनिक शिक्षाबाट हासिल गरेको ज्ञान मानव हित र कल्याणका लागि पनि उपयोग गर्न सक्नुपर्दछ।
हामीले यदि विद्यालय विश्वविद्यालयबाट ठूल्ठूला शैक्षिक उपाधि र डिग्रीहरू हासिल गर्दै जाने तर त्यसबाट प्राप्त ज्ञान समाजको हित र कल्याणका लागि उपयोग नगर्ने हो भने त्यस्तो शिक्षाको उपादेयता नै के रह्याे त? त्यसैले हामीले आज जुन शिक्षा हासिल गरिरहेका छौं त्यो हाम्रो व्यक्तिगत फाइदाका लागि मात्र नभएर मानवीय हित र कल्याणका लागि पनि हुनुपर्दछ। तब मात्र हामी साँचो अर्थमा शिक्षित व्यक्ति भनेर कहलिन सक्छाैं। यसका लागि हामीले आधुनिक शिक्षा सँगसँगै नैतिक शिक्षा पनि ग्रहण गर्नुपर्दछ।
आध्यात्मिक गुरु सत्य साइबाबा अगाडि भन्नुहुन्छ – शिक्षा भनेको सांसारिक जीवन निर्वाह गर्ने साधन मात्र होइन। जीवन निर्वाहका निमित्त कुनै न कुनै काम त अशिक्षित व्यक्तिहरूले पनि गरिरहेकै हुन्छन्। तिमीले पनि यदि अशिक्षित व्यक्तिहरूले जस्तै सांसारिक जीवन निर्वाहका लागि मात्र आफूले प्राप्त गरेको शैक्षिक उपाधिको उपयोग गर्ने हो भने शिक्षित र अशिक्षितमा फरक नै के रह्यो त? त्यसैले सत्य, धर्म, प्रेम, शान्ति र अहिंसा जस्ता मानवीय मूल्यहरू निहित शिक्षा पनि तिमीले ग्रहण गर्नुपर्दछ। जसले तिम्रो वास्तविक मानवीय स्वरूपको पहिचान दिन्छ। “तिमी जहाँ रहे पनि जुनसुकै कार्य गरे तापनि तिमीले आफ्नो जीवनको मुख्य आधार नैतिकता नै ठान्नुपर्दछ। किनकि नैतिकता मानिसका लागि धनसम्पत्तिभन्दा पनि ठूलो हुन्छ। धनसम्पत्ति त जीवनमा आउँछ जान्छ तर नैतिकता आउँछ र बढ्छ।” उहाँले आफ्नो दिव्य सन्देशमा भन्नुभएको छ।
नैतिकताको सन्दर्भमा कुरा गर्दा दुःखका साथ भन्नुपर्छ कि अहिले हाम्रा अधिकांश राजनीतिक नेताहरूको नैतिकतामा आएको ह्रासकै कारणले देश निराशाजनक अवस्थाबाट गुज्रिरहेको छ। मुलुक सञ्चालन गर्ने जिम्मा लिन पुगेका हाम्रा राजनीतिक नेताहरू नैतिकता र इमान्दारीमाभन्दा भौतिक सुख सुविधा र सम्पत्ति थुपार्ने अस्वस्थ प्रतिस्पर्धामा लागेकाले नै देशमा भ्रष्टाचार आज एक किसिमबाट निको नहुने रोगको रूपमा मौलाइरहेको छ, फैलिरहेको छ। यदि हाम्रा राजनीतिक नेताहरूलाई बाल्यकालकाे अवस्थाबाटै मानवीय एकत्वको भाव बोकेको नैतिक वा आध्यात्मिक शिक्षा प्रदान गर्न सकेकाे भए आज हाम्रो मुलुकले यस्तो दुरावस्था भोग्नुपर्ने थिएन कि।
नैतिक वा आध्यात्मिक शिक्षाको उपयोगितालाई हामीले यसरी पनि हेर्नुपर्ने हुन्छ।
नैतिकताको प्रसंगलाई हामी आफ्नो जीवनको सदाचारसँग पनि जोडेर हेर्न सक्तछौँ। जुन सदाचारभित्र असल चरित्र, विचारको स्वच्छता, निस्वार्थ सेवा आदि पर्दछन्। सदाचार एउटा यस्तो मार्ग हो जसले मानिसलाई सदैव सत्कार्यतर्फ अघि बढ्न अभिप्रेरित गर्दछ। यस सन्दर्भलाई लिएर पनि सत्य साई बाबाले भन्नुभएको छ, नीति अथवा सदाचार भनेको तिमीले आफूलाई करबलले अथवा जबर्जस्ती थोपर्नुपर्ने वस्तु होइन। यो त तिमीमा रहेको स्वाभाविक अन्तरनिहित गुण हो। तिमीले यसलाई जगाउन सक्नुपर्दछ, अक्षुण्ण राख्न सक्नुपर्दछ। यसका लागि उहाँले हामीलाई एउटा सूत्र पनि बताउनुभएको छ।
त्यो सूत्र हो- दैवप्रिती, पापभीति र संघनीति अर्थात् परमात्माप्रति प्रेम, पापदेखि डर र सामाजिक उत्तरदायित्वको भावना। यी तीन कुरालाई तिमीले मूलमन्त्रको रूपमा अवलम्बन गर्नुपर्दछ। यस मूल मन्त्रलाई तिमीले कहिल्यै बिर्सनु हुँदैन भनेर उहाँले आफ्नो दिव्य सन्देशमा भन्नुभएको छ। उहाँको यस सन्देशलाई हामी सबैले त्यसमा पनि विशेषगरी बालबालिका अथवा किशोरकिशोरीहरू जो राष्ट्रका कर्णधार मानिन्छन् र भोलि गएर उनीहरू राजनेता पनि बन्न सक्छन्, कलाकार पनि बन्न सक्छन्, डाक्टर – इन्जिनियर पनि बन्न सक्छन्। उनीहरूले मूलमन्त्रको रूपमा लिनुपर्दछ।
उहाँ आगडि भन्नुहुन्छ – समय अति मूल्यवान छ। यसको दुरुपयोग नगर। समयको पूर्ण सदुपयोग गर्दै जीवनमा कुन वस्तु चीरस्थायी र सत्य हो भन्ने कुरा मनन गरेर तिमीले आफ्नो कर्तव्यपथमा अगाडि बढ्नुपर्दछ।
वास्तवमा यिनै कुरा ह्रृदयङ्गम गरेर हामीले आफ्नो कर्तव्यपथमा निरन्तर अगाडि बढ्नु नै नैतिक शिक्षाको मुख्य उद्देश्य हो। त्यसैले नैतिक शिक्षालाई पाठ्यपुस्तकमा समाविष्ट गर्नु मात्र पनि ठूलो कुरा होइन। मुख्य कुरा यसबाट सिकेको कुरा हामीले समाजको हित र कल्याणका लागि कसरी उपयोग गरेका छौं अथवा गर्न सकिरहेका छौं त? नैतिक शिक्षाको मुख्य उपलब्धि र सार यसैमा निहित हुन्छ।


प्रतिक्रिया