इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का बलरहरूले सानदार प्रदर्शन गर्दै घरेलु टोली दिल्ली क्यापिटल्सलाई न्यून स्कोरमा समेटेका छन्।

अरुण जेट्ली स्टेडियममा सोमबार राति सम्पन्न पहिलो इनिङ्समा दिल्ली १६.३ ओभरमा मात्र ७५ रन जोड्दै अलआउट भएको हो।

आरसीबीका तीव्र गतिका बलरद्वय जोस हेजलवुड र भुवनेश्वर कुमारको घातक बलिङसामु दिल्लीका ब्याटरहरू पूर्ण रूपमा निरीह साबित भए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीको सुरुवात निकै दयनीय रह्यो। इनिङ्सको पहिलो ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको दिल्लीले ‘पावरप्ले’ भित्रै आफ्ना शीर्ष ६ ब्याटरलाई सस्तैमा गुमाएर ऐतिहासिक पतनको सिकार बनेको थियो।

स्कोरबोर्डमा जम्मा ८ रन हुँदा दिल्लीका ६ जना प्रमुख ब्याटर पेभिलियन फर्किइसकेका थिए।

आरसीबीका कप्तान रजत पाटिदारको टस जितेर पहिले फिल्डिङ गर्ने निर्णयलाई भुवनेश्वर र हेजलवुडले शतप्रतिशत सही साबित गरिदिए। खेलको दोस्रो बलमै ओपनर साहिल पारखलाई भुवनेश्वरले शून्य रनमा बोल्ड आउट गर्दै पतनको सुरुवात गरेका थिए।

त्यसपछि क्रिजमा आएका अनुभवी ब्याटर केएल राहुल पनि लामो समय टिक्न सकेनन्। उनी ३ बलमा मात्र १ रन बनाउँदै हेजलवुडको शिकार बने।

त्यसैगरी, समिर रिजभी (०), आक्रामक ब्याटर ट्रिस्टन स्टब्स (५), कप्तान अक्षर पटेल (०) र नितिश राना (१) सस्तैमा आउट भएपछि दिल्ली ८-६ को दयनीय अवस्थामा पुगेको थियो।

जितेश शर्माले विकेटकिपरका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा महत्त्वपूर्ण क्याच लिए भने देवदत्त पडिक्कलले पनि दुईवटा क्याच लपक्दै बलरहरूलाई बलियो साथ दिए।

खेलको २.३ ओभरमा आरसीबीले अक्षर पटेलविरुद्ध एलबीडब्लुको रिभ्यु लिएको थियो, यद्यपि उक्त अपिल अम्पायर एके अर्गलले खारेज गरिदिएका थिए।

तर लगत्तै अर्को बलमा उनी आउट हुन पुगे। यस्तो अवस्थाबाट टोलीलाई उकास्न दिल्लीले २.४ ओभरमै साहिल पारखको स्थानमा अभिषेक पोरेललाई ‘इम्प्याक्ट प्लेयर’ का रूपमा मैदानमा उतारेको थियो।

पोरेलले अर्का अनुभवी ब्याटर डेभिड मिलरसँग मिलेर केहीबेर आरसीबीका बलरहरूको सामना गर्ने प्रयास गरे। यी दुईबीच सातौं विकेटका लागि केही महत्त्वपूर्ण रनको साझेदारी भयो। यो साझेदारीले टोलीलाई लज्जास्पद स्कोरमा समेटिनबाट जोगायो।

मिलरले १८ बल खेल्दै ३ चौकाको मद्दतमा १९ रन बनाए भने टोलीका लागि सर्वाधिक रन बनाएका पोरेलले ३३ बलमा ३ चौकासहित ३० रनको महत्त्वपूर्ण योगदान दिए।

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका काइल जेमिसनले पनि १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडे। जेमिसनले १२.३ ओभरमा आफ्नो विकेट बचाउन रिभ्यु लिएका थिए। तर ‘अम्पायर्स कल’ का कारण उनले पेभिलियन फर्किनुपर्‍यो।

तल्लो क्रमका कुलदीप यादवले ३ रन बनाए भने दुसमन्था चमिरा शून्य रनमा अविजित रहे।

आरसीबीको बलिङ आक्रमण आज निकै अनुशासित र धारिलो देखियो। अस्ट्रेलियन पेसर जोस हेजलवुडले ३.३ ओभर बलिङ गर्दै कुनै मेडन नराखी मात्र १२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

त्यस्तै, अर्का अनुभवी भारतीय पेसर भुवनेश्वर कुमारले आफ्नो ३ ओभरको स्पेलमा जम्मा ५ रन दिएर ३ विकेट हात पारे।

तीव्र गतिका बलरहरूले तहसनहस पारेको दिल्लीको ब्याटिङ लाइनअपलाई स्पिनरहरूले थप उठ्न दिएनन्। सुयश शर्माले उत्कृष्ट स्पेल फ्याँक्दै ४ ओभरमा १ मेडनसहित मात्र ७ रन खर्चेर १ विकेट लिए।

त्यस्तै, कृणाल पाण्ड्याले २ ओभरमा ९ रन दिएर १ विकेट तथा रसिक सलामले २ ओभरमा २१ रन दिएर १ विकेट आफ्नो नाममा दर्ता गराए।

रोमारियो शेफर्डले भने २ ओभरमा २१ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन्। अब खेल जित्नका लागि आरसीबीले ७६ रनको सहज लक्ष्य पाएको छ।