धरान । बैशाख १५ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विशेष पहलमा सर्दूखोला बगर क्षेत्रमा निर्माण गरिएको पार्क यतिबेला सुन्दरता र नौलो स्वरूपका कारण चर्चाको केन्द्र बनेको छ। तर, यो पार्कले जनस्तरमा प्रशंसा कमाइरहँदा यसको व्यवस्थापन, आर्थिक पारदर्शिता र भविष्यको दिगोपनलाई लिएर गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। पूर्व सचिव भिम उपाध्यायले स्थलगत अवलोकनपछि पार्कको भौतिक रूप जति आकर्षक छ, सञ्चालन पद्धति उत्तिकै अपारदर्शी र अराजक रहेको भन्दै कडा टिप्पणी गर्नुभएको छ।

​मेयर साम्पाङको सक्रियतामा सुरु भएको यो अभियानमा कति रकम कसको सहयोगबाट जुट्यो, निर्माणमा कुल कति खर्च भयो र ती मूर्तिहरू कुन कलाकारले बनाएका हुन् भन्ने जस्ता आधारभूत जानकारी त्यहाँ कहीँ कतै उपलब्ध छैन। पार्कको सञ्चालन र रेखदेखमा को जिम्मेवार छ भन्ने कुराको उत्तर दिने व्यक्तिसमेत त्यहाँ फेला पर्दैनन्। कर्मचारी व्यवस्थापन, मासिक सञ्चालन खर्च र त्यसका लागि आवश्यक स्रोतको व्यवस्था कसरी भइरहेको छ भन्ने विषयमा नागरिक स्तरबाट उठ्ने प्रश्नहरू अनुत्तरित नै छन्।

​विशेष गरी विदेशमा रहेका धराने लाहुरे परिवारको चन्दा र व्यक्तिगत स्मृतिमा स्पोन्सर गरिएका मेचहरूले पार्कको निर्माणमा ठूलो सहयोग पुगेको छ। तर, पार्कको व्यवस्थापन गर्ने क्रममा भने निकै सास्ती र विकृति देखिएको छ। पार्कभित्र गोर्खा सैनिक, महिला समूह, जेष्ठ नागरिक र स्वतन्त्र नागरिक समूहहरूले आफ्नै सिमाना कोरेर पकेट-पकेटमा बाँडेका छन् र आ-आफ्नै प्रवेश शुल्क उठाउने गरेका छन्। मेयर साम्पाङको सपनामा बनेको यो पार्कभित्र ‘अर्को पार्क’ चलाएर जुन किसिमको स्वार्थपूर्ण सिण्डिकेट देखिएको छ, त्यसले पारदर्शितालाई शून्य बनाइदिएको छ।

​यसका साथै, ‘श्रमदान’ को नाममा गरिएका कामहरूलाई पनि अपारदर्शी ढङ्गले अगाडि बढाउन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न उठेको छ। सार्वजनिक विकासका काममा श्रमदानको महत्व ठूलो भए पनि, त्यसलाई आवरण बनाएर आर्थिक पारदर्शिताबाट पन्छिन मिल्दैन। यति मात्र होइन, पार्कको संरचना निर्माण गर्दा अपनाइएको प्राविधिक लापरवाहीले थप चिन्ता बढाएको छ। सर्दूखोलाको मुहानबाट ल्याइएको ८ देखि १० इन्चको मोटो खानेपानीको पीभीसी पाइपलाई बगरमा जथाभावी सुताएर राखिएको छ। मेयर साम्पाङले खानेपानीको समस्या समाधान गर्न खेलेको भूमिका सराहनीय भए पनि, खोलाको बगरमा यसरी पाइप राख्नुले वर्षायामको बाढीमा ठूलो क्षति हुने निश्चितप्राय: छ। यदि बाढीले ती पाइपहरू बगाए वा क्षति पुर्‍याएमा नगरवासीले खानेपानीको ठूलो संकट भोग्नुपर्ने देखिन्छ।

​मेयर साम्पाङ अहिले सांसद भइसकेका छन्, तर उनकै नेतृत्वमा भएको यो कामको हिसाब-किताब उनले सार्वजनिक गर्नुपर्ने देखिन्छ। जनताले पनि विकासका नाममा निर्माण भएका यस्ता संरचनाको खर्चको विवरण खोज्नु र खबरदारी गर्नु अब अनिवार्य भइसकेको छ। सुन्दर पार्क बनाएर धरानको मुहार फेर्ने प्रयास राम्रो भए पनि, यसमा देखिएको आर्थिक अपारदर्शिता र अव्यवस्थित संरचनाले भविष्यमा ठूलो चुनौती निम्त्याउन सक्छ। त्यसैले, तत्काल यसको सञ्चालन कार्यविधि स्पष्ट पार्ने, आय-व्यय सार्वजनिक गर्ने र खानेपानीको पाइपलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिकाले गम्भीरता देखाउनु आवश्यक छ।