यहाँको एक सामुदायिक वन समूहको खयर अवैधरूपमा कटान भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने एक उपभोक्ता आफै पक्राउ परेका छन्।

बेलका नगरापलिका-८ स्थित कुङरिमा सामुदायिक वन उपभोक्ता समूहको खयर अवैधानिक तरिकाले कटान भएको भन्दै इटहरीस्थित अख्तियार कार्यालयमा उजुरी दिएका बेलका-९ रामपुरका भिमप्रसाद घिमिरे शनिबार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला अदालतबाट शनिबारै जारी पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका हुन्। डिभिजन वन कार्यालय गाईघाटको टोली रामपुरस्थित घरमै पुगेर घिमिरेलाई पक्राउ गरेको डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) गजेन्द्रकुमार श्रेष्ठले पुष्टि गरे।

अदालतको पुर्जी अनुसार वन कर्मचारी टोलीले घिमिरेलाई नियन्त्रणमा लिएर वन हिरासतमा राखेर अनुसन्धान सुरु भएको उनले बताएका छन्।

घिमिरेलाई मैनामैनीको राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार हटाउने, ओसारपसार वा बिक्री वितरण गरेको आरोपमा स्थानीयले दिएको उजुरीका आधारमा पक्राउ गरिएको श्रेष्ठले बताए।

केही दिनअघि आफै बेलका नगरका वनजंगलबाट अवैध रूपमा खयर काठ कटान भइरहेको भन्दै वन कर्मचारी र समूहका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी दिने घिमिरे आफै वन पैदावार हानीनोक्सानी गर्ने कार्यमा संलग्न भएको उजुरी परेपछि यथार्थ के हो भन्ने अनुसन्धान गर्न नियन्त्रणमा लिइएको डिएफओ श्रेष्ठले बताए।

घिमिरेले डिएफओ श्रेष्ठसहित वन अधिकृत जागेश्वर साह, कम्प्युटर अप्रेटर सञ्जय कामत, सवडिभिजन मैनामैनीका प्रमुख युवराज दर्लामी मगर, फरेस्टर राजकुमार मोक्तान, वन रक्षक अर्जुन खड्का र जमदार गिरिराज मगर संलग्न रहेको भन्दै अख्तियारमा उजुरी दिएका थिए।

उनको उजुरीमा सामुदायिक वन समिति पदाधिकारी तथा केही ठेकेदारबीचको मिलेमतोमा उपभोक्ताले मागै नगरी खयर काठ अवैध रुपमा कटान र फडानी गरेकाले आवश्यक कारबाही गर्न माग गरेको उल्लेख छ।

डिभिजन वन कार्यालयका अनुसार मैनामैनीस्थित रानीछाँडा सामुदायिक वन समूहको खयर केही समयअघि अवैध फडानीमा संलग्न विभिन्न व्यक्तिहरु संलग्न भई फरार रहेकाले खोजी कार्य भइरहेको छ।

सो समूहको १ हजार ५ सय क्युविक फिट खयर अवैध कटान गरेको घटनामा संलग्न ३ जनाविरुद्ध वैशाख ४ गते अदालतबाट पक्राउ पुर्जी जारी भई खोजी कार्य भइरहेकै बेला अख्तियारमा मुद्दा हाल्ने घिमिरे स्वयं संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको डिभिजनले जनाएको छ।

वन फडानीमा डिएफओसहित वन कर्मचारी नै संलग्न भएको भन्दै अख्तियार गुहार्ने उजुरीकर्ता नै पक्राउ पर्नुले घटना रहस्यमयी बन्दै गएको स्थानीयले बताएका छन्।

बेलका-९ का वडाध्यक्ष भरत घिमिरेले यसबारे सम्बन्धित निकायबाट निष्पक्ष र स्पष्ट छानबिन गरी तथ्य बाहिर ल्याउन उपभोक्ताले माग गरिरहेको बताएका छन्।