नेपाली केम्पो टोलीले टर्कीमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेको छ।
टर्कीको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आट्र्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो। नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर १७ पदक जितेको जानकारी दिए।
प्रतियोगितामा नेपालका लागि विधामा पदक हात पार्यो। जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जिते। यसै विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदकमा चित्त बुझाए। विपन (हतियार) कातामा जुनियरतर्फ मोनालिसाले रजत तथा सुलभ श्रेष्ठ र क्रिडिक्सले कांस्य पदक प्राप्त गरे।
१८ वर्षमाथिको काता विधामा यमन पाण्डेले कांस्य पदक जिते। समूह कातामा मोनालिसा र इरा गौतमको जोडीले कांस्य पदक जित्यो। सेल्फ डिफेन्समा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा र शिवहरि राईको टोलीले कांस्य पदक हात पार्यो।
मिक्स्ड सेल्फ डिफेन्स (पुरुष तथा महिला) मा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा र शिवहरिले रजत पदक जिते। सेल्फ डिफेन्स विधामा अञ्जना शाही र मोनालिसाले कांस्य पदक प्राप्त गरे। दोस्रो दिनको सबमिसन विधा जुनियरतर्फ क्रिडिक्स विक्रमले रजत पदक जित्दा मोनालिसा, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते।
महासंघका अध्यक्ष शाहले आगामी २६ अप्रिलसम्म हुने प्रतियोगिता थप पदक जित्ने आशा व्यक्त गरेका छन्। उक्त प्रतियोगितामा नेपालबाट कुल १६ खेलाडी तथा अधिकारीहरू सहभागी छन्। नेपाली टोलीका प्रशिक्षक अञ्जना शाहीले नेपालको झण्डा विश्वस्तरमा फहराउन सफल भएकोमा सबै पदक विजेता तथा सहभागी खेलाडीहरूलाई बधाई दिए।


प्रतिक्रिया