शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरले २०८२ वैशाखदेखि चैत एक वर्षको अवधिमा केन्द्रले २१३ जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण गरेको जनाएको छ । केन्द्रको शुक्रबार भएको १४ औं वार्षिक उत्सवमा केन्द्रले यस्तो तथ्यांक दिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव केन्द्रको परिसरमा विशेष समारोहबीच भव्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले २०८२ बैशाखदेखि २०८२ चैत्र मसान्त सम्म २१३ जनाको मिृर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको जानकारी गराएकी हुन् ।

केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र यो उपलब्धी संभव भएको कुरा उनले बताएकी थिइन् । उनले केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको भन्दै केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गरिन् ।

केन्द्रको वार्षिक उत्सवको अवसरमा केन्द्रमा मृगौला प्रत्यारोपण सर्जरी विषयमा एक वर्षे फेलोशिप कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका डा. विकास खड्कालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मानब अंग प्रत्यारोपण केन्द्र विकास समितिका अध्यक्ष डा. केशरबहादुर ढकालले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पु¥याएको सेवा र सहयोगको उच्च सम्मान गरे । केन्द्रको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको केन्द्रको विकासको लागि सदैव प्रतिवद्द रहेको उनले बताए ।

समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरुमध्ये २०८२ सालमा उत्कृष्ट सेवा गरे बापत डा निभा श्रेष्ठ, ल्याब टेक्निसियन प्रशान्त बासुकला, स्टाफ नर्स अनु शाही, खरिदार बालिका ढकाल र सवारी चालक बल राम पाँउ गरी ५ जना उत्कृष्ट कर्मचारी घोषित भएका थिए भने नर्सिङ्ग इन्चार्ज एलिसा श्रेष्ठलाई नगद पुरस्कार र सम्ममान पत्र सहित सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।