नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने उद्देश्यले तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। यसअघि आजै निर्वाचनमार्फत नेता चयन गर्ने तयारीसहित कार्यतालिका सार्वजनिक गरिएको थियो।
पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै दलको नेता सहमतिमै चयन गर्न निर्वाचन कार्यतालिका स्थगित गरिएको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए।
उनका अनुसार सर्वसम्मत रूपमा नेता चयन गर्न कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको संयोजनसमेत रहनेछ।
रसाइलीले भोलि साँझसम्म सहमतिमै दलको नेता चयन गर्ने लक्ष्य रहेको बताए। उनले सभापति गगन थापाले सर्वसम्मत नेतृत्व चयनका लागि आवश्यक गृहकार्य गरिरहेको पनि बताए।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार मानिएका छन्। यसबाहेक मोहन आचार्यदेखि निष्कल राईसम्मको नाम चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।


प्रतिक्रिया