काठमाडौं उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको छ।
एकातिर सुकुम्बासीको संख्या थपिँदै गएको छ भने अर्कोतिर प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले शनिबार या आइतबार बस्तीमा डोजर चलाउने अन्तिम तयारी गरेको छ।
यसअघि सुकुम्बासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले काठमाडौं, ललितपुर र भक्तपुरका २० वडाका २७ बस्तीमा ३ हजार ४ सय ९६ परिवार रहेको रिपोर्ट तयार गरेको थियो।
तर, अहिले यो संख्या झन्डै दोब्बरले बढेको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीका अनुसार हाल उपत्यकामा सुकुम्बासी परिवार ६ हजार र जनसंख्या ४० हजार पुगेको छ।
डोजर चलाउने तयारी गरिएको थापाथली क्षेत्रमा मात्रै १४२ परिवारको बसोबास छ। सुकुम्बासीहरू वर्षौंदेखि बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा र बल्खु खोला किनारमा बस्दै आएका छन्।
वास्तविक सुकुम्बासी यकिन गर्न र व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७८ फागुन १६ गते वीरेन्द्र थपलियाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो। तर, समस्याको स्थायी समाधान नहुँदा नदी किनारमा बसोबास गर्नेको संख्या बढेको बढ्यै छ।
बस्ती खाली गराउन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएपछि बिहीबार साँझ प्रहरीले थापाथली पुगेर शुक्रबार साँझसम्मको अल्टिमेटम दिँदै माइकिङ गरेको छ। यता, सुकुम्बासी मोर्चाले भने कुनै हालतमा बस्ती नछाड्ने र सरकारले डोजर चलाए प्रतिकार गर्ने चेतावनी दिएको छ।
उनीहरूले कानुनबमोजिम आफूहरूलाई सोही ठाउँको लालपुर्जा दिनुपर्ने माग राखेका छन्।सरकारले सुकुम्बासी व्यवस्थापनकै लागि इचंगुनारायणमा बनाएका ३ सय फ्ल्याटका तीनवटा ठूला भवन भने अलपत्र छन्।
२०६१ सालमै सुकुम्बासीलाई त्यहाँ सार्ने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन। विगतमा विष्णुमती र धोबीखोला किनारका केही परिवारलाई क्षतिपूर्तिसहित अन्यत्र सारिए पनि अधिकांश योजना सफल भएका छैनन्।
यसैबिच, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्बासीलाई तत्काल होटलमा राख्ने खर्च व्यहोर्न महानगर तयार भए पनि तोडफोड भए त्यसको जिम्मेवारी नलिने स्पष्ट पारेका छन्।
यद्यपि, सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सस्मित पोखरेलले भने सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्बाट कुनै निर्णय नभएको जानकारी दिएका छन्।


प्रतिक्रिया