काठमाडौं, १० वैशाख २०८३ । ​सम्बन्धित मन्त्रालयले स्थानीय तहमा सरुवा भएर पनि लामो समयदेखि रमाना नलिई खटाइएको कार्यालयमा हाजिर हुन अटेर गर्ने १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तत्काल रमाना लिएर जान कडा निर्देशन दिएको छ।

​मन्त्रालयले आज (२०८३/०१/१० गते) एक पत्राचार गर्दै उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको स्थानीय तह (नगरपालिका/गाउँपालिका) मा हाजिर हुन निर्देशन दिएको हो।

२०८२ भदौदेखि २०८२ चैत महिनाको अवधिमा विभिन्न स्थानीय तहमा सरुवा भई लामो समय बितिसक्दा पनि अझैसम्म साविककै कार्यालयमा कार्यरत रहेका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ। यदि तोकिएको तीन दिनभित्र रमाना नलिएमा ‘निजामती सेवा नियमावली, २०५०’ को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कडा विभागीय कारबाही गरिने मन्त्रालयले जनाएको छ।

लामो समयदेखि सरुवा भएको ठाउँमा जान आनाकानी गर्ने र पहुँचका आधारमा साविककै कार्यालयमा बस्ने कर्मचारीहरूको प्रवृत्तिले स्थानीय तहको प्रशासनिक कामकारबाहीमा समेत असर पर्दै आएको थियो। यस्तो विकृति रोक्न मन्त्रालयले कडा कदम चालेको हो।

​मन्त्रालयले आगामी दिनमा समेत यसरी खटाइएको स्थानमा जान अटेर गर्ने वा तोकिएको अवधि पूरा नभई हाजिर नहुने कर्मचारीहरू उपर थप कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। 

सरुवा भई गएका ठाउँमा नजाने कर्मचारीका कारण स्थानीय तहहरूमा सेवा प्रवाह प्रभावित हुने र प्रशासनिक काममा ढिलासुस्ती हुने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो निर्णय लिएको हो।