काठमाडौं, १० गते बैशाख । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत महामहिम श्री माएदा तोरु (H.E. Mr. MAEDA Toru) ले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटका क्रममा राजदूत माएदाले नवनियुक्त कानून मन्त्री गौतमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री गौतम र राजदूत माएदाबीच नेपालको कानून सुधारको क्षेत्रमा विगतमा हुँदै आएको सहकार्यलाई थप निरन्तरता दिने विषयमा छलफल भएको छ ।
त्यसैगरी, बदलिँदो विश्व परिवेशमा सूचना प्रविधि (IT) र आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता नवीनतम् प्रविधिहरूको नियमनका लागि आधुनिक कानून निर्माणको आवश्यकता रहेको विषयमा दुवै पक्षले जोड दिएका छन् । मन्त्री गौतमले प्रविधि र कानूनको अन्तरसम्बन्धलाई मध्यनजर गर्दै सहकार्यका थप नयाँ क्षेत्रहरू पहिचान गर्न नेपाल तत्पर रहेको बताउनुभयो ।
छलफलका क्रममा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गौतमले जापान सरकारलाई आवश्यक पर्ने कुनै पनि नीतिगत वा कानूनी विषयमा छलफल गर्न नेपाल सधैं खुला रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया