नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्ने उद्देश्यसहित शीर्ष नेताहरूसँगको राजनीतिक संवाद थालनी गरेका छन्।
यसै क्रममा सभापति थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
पार्टीभित्र देखिएका आन्तरिक बेमेललाई अन्त्य गर्दै सहमति र सहकार्यको वातावरण निर्माण गर्न थापा खड्कालाई भेट्न उनकै निवास गल्फुटार पुगेका थिए।
भेटपछि प्रतिक्रिया दिँदै सभापति थापाले भने, ‘पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरूसँग संवाद सुरु गरेको छु।’
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टी पंक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने सहज वातावरण तयार गरिदिएको बताएका छन्। अदालतको फैसलासँगै कांग्रेसलाई फेरि बलियो बनाउने साझा यात्रा सुरु भएको उनको भनाइ छ।
पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा थापाले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिन जोड दिएका छन्।
उनले महाधिवेशनलाई सफल पार्न र पार्टीलाई नयाँ ऊर्जाका साथ अघि बढाउन सम्पूर्ण कांग्रेसी नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेका छन्।


प्रतिक्रिया