सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता अबदेखि हरेक १५/१५ दिनमै उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै यसको कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आधिकारिक परिपत्र गरेको हो।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा महिना भुक्तान भएपछि मात्रै तलब दिने परम्परालाई परिमार्जन गर्दै अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

अर्थ मन्त्रालयको परिपत्र प्राप्त भएसँगै महालेखा नियन्त्रक कार्यालयले यसको प्राविधिक तथा व्यवस्थापकीय तयारी थालेको छ।

यसअघि कर्मचारीहरूले महिना दिन पूरा भएपछि मात्र एकमुष्ट तलबभत्ता बुझ्दै आएका थिए। महिनाको अन्त्यसम्म पर्खिँदा विशेषगरी तल्लो तहका कर्मचारीहरूलाई दैनिक गुजारा चलाउन समस्या हुने गरेको गुनासो थियो।