श्रमशक्ति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले कर्मचारी संयन्त्रको ढिलासुस्ती अन्त्य गर्न स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू हुनेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

कानुन मन्त्रीमार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको खुला पत्रमा राईले कर्मचारीतन्त्रले जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, ढिलासुस्ती गर्ने तथा जटिल प्रक्रियामा अल्झाएर विकासका काममा अनावश्यक विलम्ब गराउने प्रवृत्तिले देशको प्रगति प्रभावित भएको बताएका छन्।

उनले प्रशासनिक तथा प्रक्रियागत जटिलतालाई ‘क्यान्सर’ सरह समस्या भएको टिप्पणी गर्दै यसको समाधानका लागि कानुनी संरचनामै व्यापक सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

राईले अटेरी कर्मचारीलाई जवाफदेही बनाउन स्थायी नियुक्तिको व्यवस्था अन्त्य गरी करार प्रणाली लागू गर्नुपर्ने तर्क अघि सारेका छन्।

त्यस्तै, प्रक्रियामै लामो समय खर्चिने जटिल कानुनहरू खारेज गरी सरल, सहज र कार्यान्वयनमुखी कानुनी व्यवस्था बनाउनुपर्नेमा उनले जोड दिएका छन्। आवश्यक परे सुधारका लागि आफू सहयोग र सहकार्य गर्न तयार रहेको पनि उनले पत्रमार्फत जनाएका छन्।