​बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–१, सानोडाफेस्थित श्री वीरभद्र राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच शैक्षिक सामग्री तथा ट्रयाकसुट वितरण गरिएको छ। मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त राहत तथा सहयोग कार्यक्रम सम्पन्न भएको हो।

​विद्यालयमा अध्ययनरत कुल ६२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाकको रूपमा ६२ जोर ट्रयाकसुट र अन्य आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ। दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले यो सहयोग उपलब्ध गराइएको आयोजकले जनाएकोछ ।

​सहयोग हस्तान्तरण कार्यक्रममा मिलिजुली सामाजिक प्रतिष्ठानका अध्यक्ष माधव शर्माले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो सानो प्रयासले बालबालिकाको उज्यालो भविष्य निर्माणमा टेवा पुग्छ भने हामी यस्ता कार्यलाई निरन्तरता दिनेछौँ।”

​त्यसैगरी कार्यक्रम संयोजक सोनिया चामलिङ राई र आजीवन सदस्य पूर्णिमा श्रेष्ठले विद्यार्थीहरूको उत्साहजनक सहभागिताले सामाजिक सेवामा लाग्न थप उर्जा मिलेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

​मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले विगत लामो समयदेखि देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर, खाद्यान्न वितरण र शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअघि पनि यी संस्थाहरूले प्राकृतिक विपत्तिमा परेकाहरूलाई राहत वितरण र विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएका छन्।

​न्यानो ट्रयाकसुट र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू हर्षित देखिएका छन्। विद्यालयका प्रधानाध्यापकले सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको विद्यालय उपस्थिति दर बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।