काठमाडौं । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले कोरियामा कामको अनुभव लिएका तथा छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्किएका नेपालीहरूका लागि एक विशेष ‘के-फुड’ (कोरियाली खाना) कार्यक्रम आयोजना गरेको छ। शनिबार राजदूत निवास, काठमाडौंमा आयोजित यस कार्यक्रमले सहभागीहरूलाई कोरियाली खानामार्फत आफ्ना कोरियाका अविस्मरणीय सम्झनाहरू साटासाट गर्ने महत्त्वपूर्ण अवसर जुटायो।

सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने लक्ष्य

​गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले बधाई मन्तव्यका क्रममा यस कार्यक्रमलाई कोरियामा अनुभव लिई फर्किएका कामदार र पूर्व विद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरू परिवार र साथीहरूसँग बाँड्ने अर्थपूर्ण अवसरका रूपमा प्रकाश पारे।

​राजदूत पार्कले सहभागीहरूप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा के-पप, के-ड्रामा र के-फुड मार्फत कोरियाली संस्कृतिको बढ्दो प्रभावको प्रशंसा गरे। उनले कोरिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ पार्ने कुरामा जोड दिँदै कोरियामा बहुमूल्य समय बिताएका नेपालीहरूलाई आज नेपालमै साथीभाइ र परिवारसँग कोरियाली खानाको स्वाद दिलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको धारणा राखे।

पुनर्एकीकरण कार्यक्रमको निरन्तरता

​दूतावासका अनुसार, आजको यो कार्यक्रम कोरियाली सरकारले जारी राखेको ‘कोरियाबाट फर्किएका कामदारको पुनर्एकीकरण कार्यक्रम’ कै एक हिस्सा हो। यो कार्यक्रम यसै वर्ष अगस्ट महिनामा काठमाडौंमा आयोजना गरिएको ‘के-फुड उद्यमशीलता तालिम’ को निरन्तरतामा रहेको बताइएको छ।

​कोरियाली सरकारले नेपाली युवाहरूका लागि दिगो स्टार्टअप इकोसिस्टमका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसको मुख्य लक्ष्य नेपालमा रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नु रहेको छ।

​कार्यक्रममा दूतावासका कर्मचारीहरू सहित ३५ जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसले कोरिया र नेपालबीचको मित्रता तथा सांस्कृतिक सद्भावलाई थप प्रगाढ बनाएको छ।