श्रावण २७ काठमाडौ। जनकल्याण प्रतिष्ठानद्धारा सञ्चालित एकल अभियानका महासचिव महावीर घिरैयासँग यस अभियानका गतिविधिका बारेमा मुकुन्द कालिकोटेले लिएको अन्तरवार्ताको सम्पादित अश:

एकल विद्यालय अभियान कहिलेदेखि र किन सुरूवात गरियो ?
एकल विद्यालय अभियान आजभन्दा २९ वर्ष पहिले अर्थात विक्रम सम्वत २०५३ स्थापना भएको हो । त्यो समयमा हाम्रो देशका गाउँमा विद्यालयहरू थिएनन् । जसलाई दृष्टिगत गरेर एकल विद्यालय अभियान सुरू गरिएको थियो । शहरमा त जो जसको पहुँच पुग्छ, जो शहरमा जान सक्छन् उनीहरू त पढ्न पाए । तर जो सहरमा जान पाएनन्, शहरमा जान सक्दैनन् थिए, जो शिक्षा भन्दा टाढा थिए, त्यस्ता नागरिकहरूको लागि शिक्षा पु¥याउन सकिन्छ ? भनेर सोच्ने काम भयो । र, यो अभियानलाई गाउँमा सञ्चालन गर्ने कामको सुरूवात भयो । सरकारले आफ्नो स्तरबाट काम गरिराखेकै थियो । तर समाजका केही व्यक्तिहरू जो चाहिँ यस बारेमा चिन्ता गर्थे उहाहरूले यो अभियानको बारेमा सोचेर अभियान सुरू गर्नुभयो । जसमा चाहिँ विद्यालयलाई नै गाउँमा लैजाने र एउटा शिक्षकद्वारा नैतिक शिक्षा, अक्षर ज्ञान, योग र स्वास्थ्य शिक्षासँगै प्रकृतिको संरक्षण कसरी गर्न सकिन्छ ? कसरी जागरूक बनाउने ? भन्ने बारेमा चिन्ता भए । दिनमा दुई घण्टाको अनौपचारिक शिक्षाको कक्षा लिनेगरी यो अभियान सुरू भयो । अनि एकल विद्यायलय अभियान भनेको एक शिक्षकले धेरै विद्यार्थी पढाउने अभियान पनि हो । एकजना शिक्षकले पढाउने भएकाले यस अभियानको नाम एकल विद्यालय अभियान राखिएको हो । अहिले एक हजार बत्तिस (१०३२ ) गाउँमा ४८ जिल्लामा यो अभियान सञ्चालित छ । सुरूवातको क्रममा यो धादिङ जिल्लाका विभिन्न आठवटा गाउँमा ८ वटा विद्यालयबाट सुरू भएको अभियान थियो । अहिले यो अभियानसँग करिब ३० हजार विद्यार्थीहरू पढिरहेका छन् ।
एकल विद्यालय अभियानको खास उद्देश्य के हो ?
यसको मुख्य उद्देश्य शिक्षालाई गाउँमा लैजाने हो । शहरमा सिमित मान्छेले मात्रै शिक्षा लिन पाए । तर, हाम्रो देशका विकट जिल्लाका गाउँका मान्छेहरूले शिक्षा लिन पाएनन् । जसले अक्षर चिन्न पाएनन् । खासमा मुलुकको विकास र समृद्धि गर्नुछ भने गाउँ अथवा जड बलियो बनाउनुपर्छ । मुलुकको शिक्षा क्षेत्रलाई मजबुत बनाउनु छ भने गाउँलाई शिक्षित बनाउनुपर्छ ।
यो अभियानले समाजलाई के दियो ?
कुनै समय यस्तो थियो, जुन समयमा धेरै मानिसहरूले आफ्ना नाम, हस्ताक्षेर गर्न सक्दैन थिए । अक्षर चिन्न सक्दैन थिए । यो अभियानको प्रयासमा जति यसको पहुँचमा पुग्नुभयो उहाँहरूले अक्षर चिन्न सक्नुभयो । यो अभियानले मुलुकका विभिन्न सरकार ितथा गैरसरकारी निकायमा योग्य जनशक्तिसमेत उत्पादन गरेको छ । आफू कसरी बाँच्ने भन्ने शिक्षा दियो । स्वास्थ्य शिक्षा दियो । चेतनाको विकास ग¥यो । शिक्षा लिनुपर्छ भन्ने धारणाको विकास ग¥यो ।
यो अभियान सञ्चालनका निम्ति आर्थिक जोहो कसरी गर्नुहुन्छ ?
यो अभियान भनेको जनजनको अभियोन हो । यो समाजले सञ्चालन गरेको अभियान हो । यो कुनै धर्म, जाती र समूदाय विशेषले सञ्चालन गरेको शैक्षिक अभियान होइन । यो जनतालाई शिक्षित बनाउने जनताकै अभियान हो । गाउँ शहरमा सम्पन्न मानिसहरू छन् । जसले सहयोग गर्न चाहान्छन्, त्यस्ता व्यक्तिले सहयोग गर्नुहुन्छ । परोपकारी काममा रूचि राख्ने महानुभावहरूले सहयोग गरिरहनु भएको छ । अर्को कुरा यो अभियानको सञ्चालक कमिटीदेखि आचार्य (शिक्षक) सम्मका व्यक्तिहरू स्वयंसेवी भावनाका आधारमा सक्रिय रहेका छौँ । एउटा विद्यायलको वार्षिक खर्च ४० हजार हुन्छ । एकजना विद्यार्थीको वार्षिक खर्चा १२ सय हुन्छ । खासमा यो स्वयं सेवकहरूको अभियान भएकाले यसका धेरै ठूलो धनराशी खर्च हुँदैन ।
२०८१ सालमा कक्षा १२ को परिक्षाफलमा एकल विद्यालयको उत्पादन गौरव सापकोटा नेपाल टप हुनुभएको थियो । यसका बारेमा अलिक जानकारी गराइदिनुहोस् ?टपर हुँदा गौरवको मात्रै नाम आयो । तर, एकल विद्यालयका धेरै विद्यार्थीहरू राज्यका विभिन्न निकायमा पुगेका छन् । २८÷३० वर्षको अवधिमा यस अभियानले उत्पादन गरेका विद्यार्थीहरू कोही सुरक्षा क्षेत्रमा छन् । कोही सरकारी निकायतिर छन् । खासगरी गौरवका बारेमा भन्दा उहाँले तनहुँबाट शिक्षा प्राप्त गर्नुभएको हो । गत वर्ष कक्षा १२ मा नेपाल गर्नुभयो । अहिले उहाँलाई ४ वर्षको लागि अमेरिकाले छात्रवृत्तिमा पढाउदैछ । मैले गौरवसँग कुरा गर्दा जिज्ञासा राखेको थिए कि अब तपाईं पढेर स्वदेश फर्किने कि अमेरिकामै सेटल हुने ? उहाँले स्वदेश फर्किन्छु र एकल विद्यालय अभियानमा जोडिएर काम गर्छु भन्नुभएको छ । हाम्रो लागि गौरव त गौरवकै विषय बन्नुभएको छ ।


मारबाडी सेवा समितीको पूर्वमहासचिवसमेत हुनुहुन्छ, आज समितिको अवस्था के छ ?
समिति सञ्चालन गरेका सबै सेवाहरू अहिले पनि सुचारू नै छन् । हामी कृतिम खुट्टा दिन्छौँ । डायलासेसको सुविधा दिन्छौँ । पानी खुवाउने काम छ । यी बाहेक देशमा आउने प्राकृतिक संटकमा हाम्रो समितिले सहयोग गर्छ । जस्तो भूकम्म गएको बेला दुई तीन महिना हामीले सहयोग गरेका थियौँ । खाना नभएको ठाउँमा खाना लियौँ, पानी नभएको ठाउँमा पानी दियौँ । त्यस्तै कोरोना कालमा पनि हामीले सयौँ हजारौँ मानिसहरूलाई आइसोलेसन सेन्टरमा उपचार गरेर घर पठाएका थियौँ । अक्सिजनको अभाव थियो । त्यसको व्यवस्था गर्ने काम हामिले गरेका थियौँ । होमियो प्याथिक औषधि उपलब्ध गराएका थियौँ । त्यो बेला म समितिको महासचिव थिएँ । कम्तिमा पनि डेढ करोड मानिसलाई त्यो औषधी प्रदान गरेका थियौँ । वि.सं.२०१० सालमा स्थापना गरिएको समितिले कोरोना कालमा निक्कै धेरै कामहरू गर्यो ।
अरू धेरै क्षेत्रमा म गइँन, खासगरी यो समितिले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिका कस्तो छ ?
वार्षिक रूपमा आर्थिक अभावले पढ्न नपाएका र पढ्न नसकेका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरेका छौँ । त्यस्तै शैक्षिक सामग्री पनि हस्तान्तरण गर्ने गरेका छौँ । शिक्षा सम्बन्धि तालिम गोष्ठिहरू सञ्चालन गर्ने गरेका छौँ । भारतलगायत अन्यदेशबाट शिक्षा क्षेत्रका विज्ञ तथा जानकारहरूलाई बोलाएर तालिम दिने गरेका छौँ । अहिले सैद्धान्ति ज्ञानभन्दा पनि प्रयोगात्मक शिक्षाको ब्यापकता निक्कै धेरै छ । यसलाई समाजमा कसरी लैजाने र समाजलाई प्रयोगात्मक शिक्षा कसरी दिने भन्ने बारेमा पनि समितिले काम गरिरहेको छ ।
अर्को विषय, काठमाडौँ महानगरले पशुपति गौलाशाला धर्मशाला भत्काउने प्रयास गरेको थियो । उक्त मुद्धा तपाईँहरूले जित्नुभयो । कसरी स्मरण गर्नुहुन्छ, त्यो घटना ?त्यो एउटा समय थियो । वि.स. १९९७ मा स्थापना भएको र्धमशालाले यो ८५ वर्षको अवधिमा धेरै कामहरू गर्दै आएको छ । पशुपति गौशाला धर्मशालालाई मारबाडी सेवा समितिले यसलाई धरोहरका रूपमा लिएको छ । यो समाजका पूर्खाले सुरू गरेको कामलाई हामिले पनि निरन्तरता दिनुपर्छ भन्ने लाग्छ । गौ सेवाबाट सुरू भएको संस्थाले अहिले आएर विभिन्न कामहरू गरिरहेको छ । शव वाहन, निःशुल्क खाना खुवाउने, सौलियतमा बस्ने कोठा उपलब्ध गराउने काम गरिरहेको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई १०० रूपैयाँमा कोठा उपलब्ध गराइ राखेको छ । पैसा नै नभएका व्यक्तिलाई निःशुल्क खाने बस्ने व्यवस्था गर्दै आइरहेको छ । यस्तो पवित्र उद्देश्य राखेर काम गरिरहेको संस्थामाथि राजनीतिकरण गर्नु जायज थिएन । पहिले पशुपति क्षेत्र विकास कोषबाट पहिले डोजर आएको थियो । पछि, महानगरले पनि डोजर चलाउने कोसिस गरेकै हो । महानगरले कुनै कुरा नबुझिकन डोजर चलाउन खोजेको थियो । सेवा र समाजका विषयमा काम गरिरहेको संस्थाका बारेमा महानगरले बुझेन । ब्यापार र व्यावसायीक कामहरू भएको बुझ्यो । पछि अदालतले त्यसलाई ब्याख्या गरिदियो । त्यसपछि महानगरले सहजताका साथ हामीलाई हस्तान्तरण गर्यो । सच्चाई त सच्चाइ हो नि । हजारौँ लाखौ पर्ने कृतिम खुट्टा प्रदान गरिरहेको छ । मलाई लाग्छ, यति धेरै हजारौं लाखौँ कृतिम खुट्टा प्रदान गर्दैगर्दा मारबाडी समाजको कुनै मान्छेले पाएको छैन होला। अन्य समुदायले नै पाएको छ । दुर्गम गाउँ बस्तिका मानिसले पाएका छन् । त्यति खुट्टा अन्य अस्पतालमा गएर किन्दा हजारौँ लाखाँै पर्छ भने हामिले निःशुल्क दिइरहेका छौ । यो कति ठूलो सेवा हो ? यो आम रूपमा बुझ्न पर्ने विषय हो भन्ने लाग्छ ।
मारबाडी सेवा समिति र यो समाजले यति धेरै राम्रा काम गरिरहेको भएपनि केही मानिसहरूले तितो टिप्पटी गरिरहेका भेटिन्छन् नि ? यसको खास कारण के हुन सक्छ ?
यति धेरै कामहरू गर्दागर्दै पनि केही मानिसहरूले टिप्पणी गर्नु, गालि गर्नुलाई अन्यथा लिन सकिदैन । समाजमा यस्ता मानिसहरू भेटिन्छन् । तपाई इंगित गर्न खोज्नु भएको व्यक्तिहरू मलाई पनि थाह छ । त्यस्ता मानिसहरू आफू केही गरिराखेका छैनन् । अरूले गरेको काममा डाहा गरेर, गालि गरेर, समाजलाई बदनाम गराएर चर्चा बटुल्न उद्दत छन् । त्यस्ता मानिसलाई पशुपतिनाथले सद्बुद्धि दिउन भन्न चाहान्छु ।


तपाईँ निक्कै धेरै विषय र क्षेत्रमा जोडिएर काम गरिरहेको व्यक्ति हुनुहुन्छ। यसअर्थमा बहुआयामिक व्यक्ति पनि भन्न सकिन्छ, नेपालको वर्तमान राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
राजनीति भनेको जनताको सेवा गर्ने काम हो । समाज र जनताले भोट दिएर नेतालाई देश बनाउनुहोस् भन्ने जिम्मा दिएका छन् । समाजले दिएको जिम्मेवारी र नेताहरूको त्यो दायित्व के रहन्छ ? त्यो प्रमुख कुरा हो । वर्तमान नेतृत्वलाई मेरो एउटै आग्रह छ, जनताले दिएको अभिभारा पूरा गर्नुहोस् । तपाईँहरू देशको निम्ति केही गर्ने भनेर आउनु भएको छ, सोही अनुसार काम गर्नुहोस् । जनताको विश्वास जित्नुहोस् । यति जनताको विश्वासमाथि खेलवाड गर्नुभयो भने त्यसको परिणाम राम्रो आउदैन । जनताले ५ वर्षको लागि समय दिएका हुन्छन्, त्यो समयभित्र नेताहरूले काम गर्न सक्नुभयो राम्रै भयो । यदि काम गर्न सक्नुभएन भने जनताले विकल्प खोज्छन् । म त के भन्छु भने अहिलेकै नेतृत्वले काम गर्नुहोस् । जनताले विकल्प खोज्ने अवसर र बाध्य नबनाउनुहोस् । सबैभन्दा ठूलो देश हो । देशप्रतिको दायित्व सबैले इमान्दापूर्वक पूरा गराँै । पार्टीभन्दा माथि उठेर देशको बारेमा सोच्ने हो भने वर्तमान समयमा देखिएका समस्याहरू सहजै समाधान हुन्छन् ।


यति धेरै राजनीतिक चेतना र ज्ञान राख्ने मान्छे भएर पनि तपाईँले किन राजनीति नगरेको होला ?
सबैले राजनीति गर्ने होइन नि । हामीले समाजको लागि एक कोणबाट गरिरहेकै छौँ । हामीले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरिरहेका छौँ । राजनीति गर्नेले राजनीति गरिराखोस् । हाम्रो देश एसियाकै सुन्दर देश हो । पशुपतिनाथ, मुक्तिनाथ, बराह क्षेत्र, ताल तलैया, हिम चुचुरा सबै यहि छन् । यहाँका जनता विश्वकै राम्रो मन भएका मानिस हुन् । हिन्दुहरूको देश । बुद्धको देश । विश्वले नेपाललाई हेर्ने दृष्टिकोण निक्कै सकारात्मक छ । धार्मिक, पर्यटन र अन्य विभिन्न सम्भावनाका दृष्टिले पनि हाम्रो देश सम्पन्न छ । देश बनाउने दायित्व राजनीति गर्ने नेताहरूको मात्रै होइन । यो आम जनताको विषय र जिम्मेवारी दायित्व पनि हो । राष्ट्र निर्माणका बारेमा जनताको सोच बदलिन जरूरी छ । जसले विदेश जाने भनेर भनिराखेको पाइन्छ । विदेश नजाने भनेको होइन, तर देशमा पाइने शान्ति, सम्मान र पैसा विदेशमा पक्कै पाइदैन । केही मात्रामा पैसा अलि कमाइएला तर, अन्य कुरा पाइदैन । देशमै बसौँ । देशको माया गरौँ भन्न चाहान्छु । ( साभार: सडक-सदन साप्ताहिक )