देशभरका स्थानीय तहका अधिकांश वेबसाइटमा समस्या आएको छ। काठमाडौं महानगरपालिकासहित केही पालिकाका वेबसाइट चल्दै गरे पनि अधिकांश वेबसाइटहरू ठप्प भएका छन् भन्ने जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले दिएका छन्।
उनका अनुसार प्राविधिक कारणले गर्दा स्थानीय तहका वेबसाइटहरू ठप्प भएका हुन्। गाउँपालिकाहरूको वेबसाइटमा “यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं” भन्ने सन्देश देखिन्छ।
नगरपालिका, उपमहानगर, र महानगरको वेबसाइट भने कुनै सूचना नै नदिई बन्द छन्। प्रवक्ता पराजुलीले प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको टोली सक्रिय रहेको र चाँडै वेबसाइट पुनः सुचारु गर्ने प्रयास भइरहेको बताएका छन्।
केही पालिकाका वेबसाइटहरू आजदेखि ठप्प भएको भए पनि कतिपयको हिजोदेखि नै समस्या देखिएको छ। वेबसाइट ठप्प हुँदा स्थानीय तहहरूले प्रकाशन गर्ने सूचना, जानकारी, र प्रशासनिक तथा सामाजिक सुरक्षाका सेवाहरू प्रभावित भएका छन्।

प्रतिक्रिया