फाल्गुन १२, काठमाडौं – तराई मधेश महिला फाउन्डेशन, नेपालका अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । तत्कालिन फोरम नेपालको संस्थापक समेत रहेकी साह आज आजपामा प्रवेश गरी हुन् ।

आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनी पार्टी प्रवेश गरेकी हुन् । साहसंगै अनुसन्धानकर्ता तथा समाजसेवी बसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका लोकप्रिय एवं प्रभावशाली व्यक्तित्वहरु आजपामा प्रवेश गरेका छन् ।

पश्चगामी र यथास्थितिवादी शक्तिहरुले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्याएको तथा वर्तमान संकटबाट देशलाई निकाश दिन अग्रगामी शक्तिको मुल धाराको रुपमा आम जनता पार्टी नै एकमात्र ठोस विकल्प रहेको निश्कर्ष सहित उनीहरु आजपामा प्रवेश गरेको आजपाका उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन् ।

नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरुको उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे । पार्टीको विधान अनुसार संगठन निर्माणमा जुटन निर्देशन दिदै उनले पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।

पूर्वदेखी पश्चिमसम्म, उतरदेखी दक्षिणसम्म पार्टीको संगठन निर्माण, गठन, पुनर्गठनका साथै बिभिन्न अभियान सञ्चालन भईरहेकै बीचमा पछिल्लो समय आजपामा प्रवेश गर्नेको संख्या बढदै गईरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई पार्टीले जिम्मेवारी पनि दिईरहेको छ ।

आजपा अहिले भ्रष्टाचार, अनियमितता, कुशासन लगायतका बिरुद्धमा अभियान सञ्चालन गर्दै आएको छ । शासन व्यवस्थामा आम जनताको पहुच हुनुपर्ने र दलिय सिण्डिकेटको अन्त्य हुनुपर्ने भन्दै आजपाले संघर्ष समेत गर्दै आएको छ ।