नेपाल प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दामा रु ५३ करोड ८१ लाख ८३ हजार ८१ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट दोषी ठहर भई फरार रहेका रौतहटका ३३ वर्षीय गुलसन श्रीवास्तवलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता, अनुपमशम्शेर जबराले राजस्व अनुसन्धान विभागका निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्य समेतको प्रतिवेदन तथा जाहेरीका आधारमा राजस्व चुहावटसम्बन्धी मुद्दामा श्रीवास्तवलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ श्रीवास्तवले आफू प्रोपाइटर रहेको साङ्ग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयङ्क इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलमार्फत झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी कारोबार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
सो मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाखमा फैसला गर्दै जरिवाना र कैद सजायको ठहर गरेको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगञ्जबाट पक्राउ गरिएको थियो।
पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया