मानव सभ्यताको विकासक्रममा प्रत्येक युगले नयाँ सम्भावना र चुनौती लिएर आएको छ। ढुंगे युगदेखि औद्योगिक युगसम्म र औद्योगिक युगदेखि सूचना तथा प्रविधिको युगसम्म आइपुग्दा मानिसको जीवनशैली, सोच्ने तरिका, काम गर्ने पद्धति र सामाजिक सम्बन्धमा व्यापक परिवर्तन भएको छ। विज्ञान र प्रविधिको विकासले संसारलाई साँघुरो बनाएको छ भने मानिसको क्षमतालाई अकल्पनीय रूपमा विस्तार गरेको छ।

आज हामी एक्काइसौं शताब्दीको यस्तो चरणमा छौं, जहाँ प्रविधि केवल मानवीय जीवनको सहयोगी साधन मात्र नभएर समाज, अर्थतन्त्र, राजनीति, शिक्षा, स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्धलाई नै प्रभावित गर्ने निर्णायक शक्तिका रूपमा स्थापित हुँदै छ। कृत्रिम बौद्धिकता (एआई) यसै परिवर्तनको सबैभन्दा उल्लेखनीय उपलब्धि हो।

बिसौं शताब्दीमै विश्वले विज्ञान, सञ्चार, यातायात, चिकित्सा, उद्योग र प्रविधिका क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको थियो। कम्प्युटरको विकास, इन्टरनेटको विस्तार र डिजिटल सञ्चारले मानव सभ्यतालाई नयाँ दिशामा अगाडि बढाए तर एक्काइसौं शताब्दीमा आइपुग्दा प्रविधिको विकास सामान्य सुधारमा सीमित रहेन। सूचना संकलन, विश्लेषण, उत्पादन र सम्प्रेषण गर्ने क्षमतामा अभूतपूर्व वृद्धि भयो। मानिसले घण्टौं लगाएर गर्ने काम केही क्षणमै सम्पन्न हुन थाले। विश्वका एक कुनामा सिर्जना भएको ज्ञान अर्को कुनामा तत्काल पुग्न सक्ने अवस्था बन्यो। यही विकासक्रमको पछिल्लो र शक्तिशाली उपलब्धिका रूपमा कृत्रिम बौद्धिकता अगाडि आएको छ।

हरेक उपलब्धिसँगै त्यसको उपयोग र दुरुपयोगका प्रश्न पनि जोडिएका हुन्छन्। एआईको विकासले जति अवसर सिर्जना गरेको छ, त्यति नै चुनौती पनि थपेको छ। प्रविधिको प्रयोगमा दक्षता हासिल गरेका व्यक्ति र संस्थाहरूले छोटो समयमै ठुलो उपलब्धि प्राप्त गरिरहेका छन्। उनीहरूले परम्परागत कार्यशैलीलाई चुनौती दिँदै नयाँ सम्भावना निर्माण गरेका छन् तर यस्तो परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने प्रवृत्ति सबैमा देखिँदैन।

कतिपय अवस्थामा नयाँ सोच र प्रविधिका माध्यमबाट अगाडि बढ्न खोज्ने व्यक्तिको खुट्टा तान्ने, उनीहरूको सिर्जनशीलतालाई निरुत्साहित गर्ने र सफलताप्रति असहिष्णु बन्ने प्रवृत्ति पनि देखिन्छ। नयाँ आविष्कारलाई प्रोत्साहन गर्नुपर्ने समाजमा प्रतिभालाई शंका, पूर्वाग्रह र अनावश्यक विवादको घेरामा राख्नु आफैंमा विडम्बना हो।

अहिले विश्वका शक्तिराष्ट्रहरू आर्थिक तथा सैन्य सामथ्र्यका आधारमा मात्र होइन, कृत्रिम बौद्धिकता, सेमिकन्डक्टर, अन्तरिक्ष अनुसन्धान, सूचना प्रविधि र डिजिटल पूर्वाधारका आधारमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन्। एआईको विकास र नियन्त्रणलाई लिएर अमेरिका, चीनलगायत प्रविधिमा अग्रणी देशहरूबिच देखिएको प्रतिस्पर्धाले यसको रणनीतिक महत्त्व स्पष्ट पार्छ। प्रविधिमा अग्रता हासिल गर्ने देशले भविष्यको अर्थतन्त्र, सुरक्षा र विश्वव्यवस्थामा समेत प्रभाव पार्न सक्ने अवस्था सिर्जना हुँदै छ। यसले विश्वलाई नयाँ सम्भावनातर्फ डोर्‍याएको भए पनि प्रविधिको प्रयोग शक्ति प्रदर्शन, आर्थिक प्रभुत्व र राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बन्ने खतरा पनि उत्तिकै छ।

अर्कातर्फ डिजिटल सञ्चार र सामाजिक सञ्जालको तीव्र विस्तारले मानिसलाई अभिव्यक्तिको अभूतपूर्व स्वतन्त्रता दिएको छ। यही स्वतन्त्रता कहिलेकाहीं क्षणिक आवेग, अपूर्ण सूचना र पूर्वाग्रहको सिकार बन्ने गरेको छ। कुनै विषयको सत्यतथ्य नबुझी तत्काल प्रतिक्रिया दिने, अपुष्ट समाचार फैलाउने, व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने र सामाजिक सञ्जालमा उठेको उत्तेजनाका आधारमा निर्णय गर्ने प्रवृत्ति बढ्दै गएको छ।

प्रविधिले सूचना छिटो पुर्‍याएको छ तर विवेकपूर्ण निर्णय गर्ने क्षमता स्वतः बढाएको छैन। मानिसले सूचना पाउने गति बढे पनि त्यसलाई परीक्षण गर्ने धैर्य र सत्य छुट्याउने विवेक कमजोर भयो भने प्रविधि ज्ञानको स्रोत नभएर भ्रमको कारखाना बन्न सक्छ।

विश्वप्रसिद्ध व्यक्तिहरू, प्रविधि उद्यमीहरू र नयाँ आविष्कारका अगुवाहरू पनि आज सार्वजनिक बहस, राजनीतिक विवाद र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको केन्द्रमा पर्ने गरेका छन्। उनीहरूका विचार, निर्णय र गतिविधिको आलोचना हुनु स्वाभाविक हो। कुनै पनि व्यक्ति आलोचनाभन्दा माथि हुँदैन तर आलोचना र असहिष्णुबिचको भिन्नता बुझ्न आवश्यक छ। कुनै व्यक्तिको विचार वा कार्यसँग असहमति हुँदैमा उसको सिर्जनशीलता, उपलब्धि र योगदानलाई नै निषेध गर्ने प्रवृत्ति उचित हुन सक्दैन।

विश्वका विभिन्न देश, संस्था वा समूहबिच कुनै व्यक्तिको प्रभाव र गतिविधिलाई लिएर विवाद उत्पन्न हुँदा त्यसको निष्पक्ष मूल्यांकन हुनुपर्छ। व्यक्तिगत असहमति, राजनीतिक स्वार्थ वा क्षणिक आवेगका आधारमा प्रतिभालाई समाप्त पार्ने प्रयासले अन्ततः समाज र विश्वकै प्रगतिलाई कमजोर बनाउँछ।

प्रविधिले मानिसलाई नजिक ल्याएको छ तर सम्बन्धमा दरार ल्याउने सम्भावना पनि बढाएको छ। सामाजिक सञ्जालमा हजारौं साथी र सम्पर्क भए पनि मानिसबिच आत्मीयता घट्दै जानु, परिवारभित्रै संवाद कमजोर हुनु र भौतिक उपस्थितिभन्दा भर्चुअल उपस्थितिलाई बढी महत्त्व दिनु आधुनिक समाजका चुनौती हुन्। एआईले सिर्जना गरेका कृत्रिम तस्बिर, आवाज र भिडियोका माध्यमबाट गलत सूचना फैलाउने, व्यक्तिको चरित्रहत्या गर्ने र सार्वजनिक विश्वासमाथि प्रहार गर्ने जोखिम पनि बढेको छ।

प्रविधिको विकाससँगै व्यक्तिगत गोपनीयता, तथ्यांकको सुरक्षा, बौद्धिक सम्पत्तिको अधिकार र मानवीय मर्यादाको संरक्षण झन् महत्त्वपूर्ण बनेको छ। त्यसैले प्रविधिको विकासलाई केवल प्राविधिक उपलब्धिको रूपमा होइन, सामाजिक उत्तरदायित्व र नैतिकताको विषयका रूपमा पनि हेर्नुपर्छ।

यस सन्दर्भमा प्रविधिको विरोध गर्नु समाधान होइन, यसको विवेकपूर्ण उपयोग सुनिश्चित गर्नु आवश्यक छ। नयाँ प्रविधिले पुराना कामका स्वरूप परिवर्तन गर्छ, कतिपय रोजगारी विस्थापित गर्छ र नयाँ सिपको माग सिर्जना गर्छ। यस्तो परिवर्तनलाई रोक्नुभन्दा मानिसलाई समयअनुकूल ज्ञान र सिप प्रदान गर्नु बुद्धिमानी हुन्छ। शिक्षा प्रणालीलाई पनि अब केवल पाठ्यपुस्तक र परीक्षामा सीमित राखेर पुग्दैन। विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक चिन्तन, अनुसन्धान क्षमता, डिजिटल साक्षरता र नैतिक जिम्मेवारी विकास गर्नुपर्छ। एआईले दिएको उत्तरलाई अन्तिम सत्य मान्ने होइन, त्यसको तथ्य परीक्षण गर्ने र मानवीय विवेकका आधारमा निष्कर्ष निकाल्ने क्षमता विकास गर्नुपर्छ।

यसका लागि राज्यको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। प्रविधि क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता, वैज्ञानिक, इन्जिनियर, उद्यमी र आविष्कारकलाई प्रोत्साहन तथा संरक्षण गर्ने नीति आवश्यक छ। उनीहरूका लागि अनुसन्धानको वातावरण, लगानी, पूर्वाधार, कानुनी सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यको व्यवस्था हुनुपर्छ। प्रतिभा पलायन रोक्ने र स्वदेशमै नयाँ प्रविधि विकास गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।

प्रविधिमा काम गर्ने व्यक्तिलाई अनावश्यक प्रशासनिक झन्झट, राजनीतिक हस्तक्षेप र सामाजिक पूर्वाग्रहबाट मुक्त राख्न सकिएन भने उनीहरूको क्षमता देशको विकासमा उपयोग हुन सक्दैन। कुनै पनि देशको भविष्य प्राकृतिक स्रोतको भण्डारमा मात्र निर्भर हुँदैन, ज्ञान, सिप र सिर्जनशील प्रतिभाको संरक्षणमा पनि निर्भर हुन्छ।

प्रविधि आफैंमा न पूर्णतः वरदान हो, न अभिशाप। यसको परिणाम मानिसले कसरी प्रयोग गर्छ भन्ने कुरामा निर्भर हुन्छ। आणविक विज्ञानले ऊर्जा उत्पादनको सम्भावना खोलेको छ भने विनाशकारी हतियारको जोखिम पनि निम्त्याएको छ। त्यस्तै एआईले मानव सभ्यतालाई नयाँ उचाइमा पुर्‍याउन सक्छ भने यसको दुरुपयोगले सामाजिक असमानता, भ्रम र नियन्त्रणको नयाँ समस्या पनि सिर्जना गर्न सक्छ। त्यसैले प्रविधिको विकाससँगै मानवीय विवेक, नैतिकता, सहिष्णुता र उत्तरदायित्वको विकास पनि आवश्यक छ।

विश्व अब प्रविधिको माध्यमबाट अगाडि बढिरहेको छ। यस यात्रालाई रोक्न सकिँदैन र रोक्ने प्रयास गर्नु पनि बुद्धिमानी हुँदैन। बरु नयाँ सोच, नयाँ आविष्कार र नयाँ सम्भावनालाई स्वागत गर्दै त्यसलाई मानवीय हितमा उपयोग गर्ने वातावरण बनाउनुपर्छ। प्रविधिमा दक्ष व्यक्तिलाई सम्मान र संरक्षण गर्ने, असहमतिलाई संवादबाट सम्बोधन गर्ने र आवेगभन्दा विवेकलाई प्राथमिकता दिने संस्कार विकास गर्नुपर्छ।

कसैको प्रगति देखेर खुट्टा तान्ने होइन, उसको उपलब्धिबाट सिकेर आफू पनि अगाडि बढ्ने प्रवृत्ति आवश्यक छ किनभने आज एउटा प्रतिभाको संरक्षण गर्नु भनेको भोलिको सम्भावनाको संरक्षण गर्नु हो। एक्काइसौं शताब्दीको वास्तविक सफलता प्रविधि कति विकसित भयो भन्नेमा मात्र होइन, त्यसबाट मानवता कति समृद्ध, सुरक्षित र विवेकशील बन्यो भन्नेमा मापन हुनेछ।