बजारमा दाना चोकरको मूल्य बढेसँगै चितवनका किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग गरेका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले सोमबार पत्रकार सम्मेलन गरी हाल चार फ्याट र आठ एसएनएफ भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँबाट बढाएर ७५ रुपैयाँ पुर्‍याउन माग गरेको हो।

सङ्घका अध्यक्ष किशोर बगालेले विसं २०७९ मा समायोजन भएयता दूधको मूल्य वृद्धि नभएको बताए। सामान्य अवस्थामा दूधको लागत मूल्य प्रतिलिटर ५५ देखि ६० रुपैयाँ पर्ने गरेकोमा अहिले दाना चोकरको मूल्य बढेपछि लागतसमेत वृद्धि भएको उनले जानकारी दिए।

‘दसैंअघिदेखि दूधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन,’ बगालेले भने। सङ्घले मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेट गरी ध्यानाकर्षण गराएको उनले बताए।

जिल्लामा हाल दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ। उत्पादित दूधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ भने ११५ दुग्ध उत्पादक सहकारीमार्फत दूध सङ्कलन गरी बजारमा पुर्‍याउने गरिएको छ।