नेपाल आयल निगम लिमिटेडले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ।

मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

इण्डियन आयल कर्पोरेशनबाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले साविककै खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको हो।

विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।

निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै इन्धनको प्रतिलिटर खुद्रा बिक्री मूल्य समान कायम गरिएको छ।

जसअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य यथावत राखिएको निगमका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।