नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत गिरफ्तार हुनुपर्ने माग गरेका छन्।
मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई झापामा उम्मेदवार बनाउने कि नबनाउने भन्ने सर्वेक्षण सापकोटाकै नेतृत्वमा भएको बताए।
सापकोटा चुनावको क्याम्पियनमा सहभागी भएको र शाह प्रधानमन्त्री भएपछि पनि कोर टिममा रहेको कुरा बाहिर आएको उनको दाबी छ।
‘यही सरकारले इनम सापकोटालाई पक्राउ गरेको छ। तर पनि, अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदैछ, पारदर्शी छैन,’ पोखरेलले भने।
त्यस्तै, उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे पनि सरकारले अभियोजन गर्न नसकेको बताए। सरकार प्रतिशोधात्मक ढङ्गले अघि बढ्न खोजेको उनको भनाइ छ।
‘बिनातथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफ्तार गर्ने,’ उनले भने, ‘१३ दिन राखेर अभियोजन पनि गर्न नसक्ने। आजसम्म अभियोजन गर्ने क्षमता सरकारले देखाउन सकेको छैन। किनकि तथ्य र प्रमाण नै छैन।’
ओली र लेखकलाई लगाइएजस्तै आरोपमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्री गिरफ्तार हुनुपर्ने पोखरेलले बताए। सुनसरीमा गोली चलेको घटनाको जिम्मा पनि प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया