कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ।
फुङ्ग्रका लीलाराम रोकायाका लागि यस वर्षको सिजन आठ वर्षको कडा मेहनतको मीठो प्रतिफल बनेको छ। आठ वर्षअघि रोपेका एक हजार ६ सय फल्ने बिरुवाबाट उत्पादित स्याउ उनले बगैँचामै प्रतिकिलो १०५ रुपैयाँका दरले बिक्री गरे।
‘मैले अहिलेसम्म २१ लाख रुपैयाँ आम्दानी लिइसकेँ, अझै ४० क्विन्टल बिक्री गर्न बाँकी छ,’ लीलारामले भने। गत वर्ष ७७ कार्टुन मात्र उत्पादन भएको उनको बगैंचाबाट यस वर्ष १ हजार ६ सय कार्टुन स्याउ निस्किएको छ।
सोही गाउँका रामचन्द्र रोकायाले चार सय फल्ने बिरुवाबाट प्रतिकिलो ९५ रुपैयाँका दरले ९ लाख ४० हजार रुपैयाँको स्याउ बिक्री गरे।
सात सय फल्ने बिरुवा भएका परिलाल रोकायाले साढे ११ लाख रुपैयाँ कमाए। अर्का किसान नर्मजङ रोकायाले चार सय बिरुवा र ठेक्काको बगैँचाबाट ७ लाख रुपैयाँ आम्दानी गरेका छन्। गत वर्ष उनको आम्दानी ६ लाख थियो।
१०६ भन्दा बढी घरधुरी रहेको फुङ्ग्रका अधिकांश परिवार व्यावसायिक स्याउ खेतीमा आबद्ध छन्। गाउँका साना किसानले समेत यस वर्ष न्यूनतम १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्।
वडाध्यक्ष कृष्णबहादुर रोकायाका अनुसार यस वर्ष मात्रै गाउँमा स्याउ बिक्रीबाट करोडौं रुपैयाँ भित्रिएको छ। ‘कुनै बेला स्याउ बोकेर खलङ्गा पुग्न दिनभर हिँड्नुपर्थ्यो, अहिले व्यापारीका गाडी घरमै आइपुग्छन्,’ उनले भने।
फुङ्ग्रमा उत्पादित स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर र पोखरा हुँदै काठमाडौंसम्म पुग्ने गर्छ। ‘ए’ र ‘बी’ ग्रेडका स्याउ जिल्लाबाहिर निर्यात गरिन्छन् भने साना स्याउबाट स्थानीय सरकारको सहयोगमा चाना, जाम, जेली र जुस बनाउने गरिएको छ।
जिल्लाभर ५५ करोडको कारोबार
कृषि विकास कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा १९ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ।
असोज १० गतेसम्म ७ हजार ३ सय ३० मेट्रिकटन स्याउ बाहिरी जिल्ला निर्यात भइसकेको छ, जसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत आर्थिक वर्षमा जुम्लाले ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ बराबरको स्याउ बिक्री गरेको थियो।
जिल्लाका कुल २४ हजार ८३८ घरधुरीमध्ये १९ हजार ३९१ (७८.०६ प्रतिशत) परिवार स्याउ खेतीमा संलग्न छन्।
कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाभर ४ हजार ६०४ दशमलव ५ हेक्टरमा स्याउ खेती विस्तार भएको छ। यसमा २ हजार ३७८ हेक्टर उत्पादनशील छ। इटालियन फुजी र गाला जातका स्याउले ५३.५ हेक्टर ओगटेका छन्। जिल्लाको औसत उत्पादकत्व प्रतिहेक्टर ८.२ मेट्रिकटन छ।
जिल्लामा २० हजार ४६१ वटा बगैंचा छन्। यहाँ रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, जोनाथन, स्टार क्रिमसन, ब्राइट एन अर्ली, स्टार्क स्पर गोल्डेन तथा इटालियन फुजी र गाला जातका स्याउ उत्पादन हुन्छन्। जिल्लाका सबै ६० वटै वडामा स्याउ खेती विस्तार भइसकेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशभर ८ हजार ९२८ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको थियो। ३ हजार ६५१ हेक्टर उत्पादनशील क्षेत्रफलबाट ३२ हजार ९५२ मेट्रिकटन स्याउ उत्पादन हुँदा जुम्ला १५ हजार ३९८ मेट्रिकटनसहित पहिलो स्थानमा रह्यो।
यस्तै, कालिकोटमा ७ हजार १७६, हुम्लामा ५ हजार ५५५, डोल्पामा ५ हजार ४८७, मुगुमा ३ हजार ९३८, जाजरकोटमा २ हजार ९३७, दैलेखमा १ हजार ११९, सल्यानमा ७६४ र रुकुम पश्चिममा ५८६ मेट्रिकटन उत्पादन भएको थियो।
जुम्लामा २०२४ सालमा राजा वीरेन्द्रले नमुना प्लट पहिचान गरी स्याउका बिरुवा वितरण गरेपछि यसको औपचारिक सुरुवात भएको थियो। २०४८ मा पुनः बिरुवा वितरण, २०५६ मा कर्णाली अञ्चल विशेष प्याकेज, २०६४ मा जुम्लालाई अर्गानिक जिल्ला घोषणा र २०७२ मा ‘स्याउ सुपरजोन’ कार्यक्रम सुरु भएपछि यो खेती घरायसीबाट व्यावसायिकतातर्फ मोडिएको हो।
यसैबीच, कर्णाली प्रदेश सरकारले स्याउ खेतीको दिगो व्यवस्थापन र बजारीकरणका लागि ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ।
कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकलाई अघि बढाउने निर्णय गरेको हो। बोर्ड गठन भएपछि गुणस्तर सुधार, शीतभण्डार, प्रशोधन उद्योग र मूल्य स्थायित्वमा टेवा पुग्ने विश्वास किसानहरूको छ।

प्रतिक्रिया