बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्।

छत्रकोट गाउँपालिका-२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले बाँझो जग्गा सदुपयोग गरी सयपत्री फूल फुलाएर वार्षिक करिब ४ लाख रुपैयाँ आम्दानी लिन थालेकी हुन्।

महत्राले विगत पाँच वर्षदेखि स्थानीयको सहमतिमा वार्षिक ५ हजार रुपैयाँ भाडा तिर्ने गरी ३ रोपनी बाँझो जग्गामा व्यावसायिक सयपत्री खेती गरिरहेकी छन्।

भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको हाइब्रिड बीउ ल्याएर सुरु गरिएको उनको व्यवसाय अहिले गाउँमै कृषि उद्यमशीलताको गतिलो नमुना बनेको छ।

उत्पादित फूलको बजारका लागि उनले कुनै चिन्ता गर्नुपरेको छैन। स्थानीय बलेटक्सारस्थित ‘पैँचो पसल’ ले उनको बारीको सबै फूल खरिद गर्दै आएको छ।

पैँचोले थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्विन्टल फूल लगिसकेको छ भने स्थानीय माग धान्न ३ क्विन्टल फूल तिहारका लागि छुट्याइएको छ।

महत्राले थोकमा प्रतिकिलो २२० र खुद्रामा २५० रुपैयाँमा फूल बिक्री गर्दै आएकी छन्। यस वर्ष कुल १८ क्विन्टल फूल बिक्रीबाट ३ लाख ९६ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ। गत वर्ष उनले ३ लाख ५० हजार रुपैयाँको फूल बिक्री गरेकी थिइन्।

अन्य बालीको तुलनामा फूलखेतीमा जोखिम कम र आम्दानी राम्रो हुने महत्राको अनुभव छ। ‘गाउँमा अरू बाली बाँदरले खाएर हैरान बनाउँछ, तर फूललाई बाँदरले पनि छुँदैन र यो चाँडै कुहिएर खेर पनि जाँदैन,’ उनले भनिन्। सयपत्री रोपेको करिब ९० दिनमै उत्पादन लिन सकिने र मुन्टा मर्ने तथा डढेलो लाग्ने समस्यालाई समयमै औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

उनको व्यवसायमा श्रीमान् तथा छोराबुहारीले पनि साथ दिँदै आएका छन्। ढकमक्क फुलेको फूलबारीमा अहिले तस्बिर खिच्न र टिकटक बनाउनेहरूको समेत घुइँचो लाग्ने गरेको छ।

इच्छाशक्ति र परिश्रम भए आफ्नै माटोमा मनग्य आम्दानी गर्न सकिने बताउँदै लक्ष्मी भन्छिन्, ‘विदेश जानुभन्दा गाउँकै बाँझो जमिनमा पसिना बगाउन सके आफ्नै देशमा आत्मनिर्भर बन्न सकिन्छ।’