अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन तीन ट्रिलियन डलर बराबरको बजार मूल्य घटेको दाबी गरेका छन्।

उनले चुनावको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि गएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्। उनले लेखेका छन्, ‘तर चिन्ता नगर्नुहोस्, हामी पहिलेभन्दा ठुलो र बलियो भएर फर्किनेछौँ।’

शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले चुनावमा राम्रो प्रदर्शन गरेको खबर आएपछि बजारमा करिब तीन ट्रिलियन डलर बराबरको मूल्य घटेको बताएका थिए। उनले यसको सम्बन्ध इरानलाई आणविक हतियार राख्न नदिने अमेरिकी नीतिसँग पनि जोडेका थिए।

ट्रम्पले यसअघि पनि डेमोक्र्याटहरूको चुनावी जितलाई सेयर बजारमा आएको गिरावटसँग जोड्दै आएका छन्। तर बजारमा आएको गिरावटको कारण चुनावी नतिजा मात्रै नभई प्रविधि तथा एआई क्षेत्रमा लगानीसम्बन्धीको चिन्ता पनि रहेको छ।

रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा प्रतिनिधिसभा र सिनेट दुवैको नियन्त्रण गुमाएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चुनावमा डेमोक्र्याटहरूले दुवै सदनमा बहुमत हासिल गरेका छन्।

चुनावमा पार्टीको हारबारे प्रतिक्रिया दिँदै ट्रम्पले आफू मतपत्रमा नभएकाले रिपब्लिकनले पराजय बेहोर्नुपरेको दाबी गरेका थिए।

यसैबिच, उपराष्ट्रपति जेडी भान्सले पनि चुनावमा पार्टीको कमजोर प्रदर्शनका पछाडि इरानसँगको युद्ध, महँगी र बढ्दो जीवनयापन खर्चलाई प्रमुख कारण मानेका छन्।

चुनावपछि पनि अमेरिकी सेनाले गत शुक्रबार होर्मुज जलमार्ग नजिकै रहेको इरानको केश्म टापुमा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी सीमित आक्रमण गरेको थियो। राष्ट्रपति ट्रम्पले उक्त आक्रमणलाई सीमित कारबाही भनेका थिए।

डेमोक्र्याटहरूले दुवै सदनको नियन्त्रण लिए पनि ट्रम्प सन् २०२९ सम्म राष्ट्रपति पदमा रहनेछन्।