काठमाडौंको बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई उपचारका लागि ग्रिनसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३:१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक सोमबहादुर धामी सामान्य अवस्थामा छन्। दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।