सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट फरार भएका कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्।
त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। योसँगै गत कात्तिक १४ गते कारागारबाट फरार भएका आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या छ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक छन्। उनीहरू जंगलमा लुकिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।
यसअघि पनि प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँबाटै दुई फरार कैदीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार थिए।
त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्। उनीहरूलाई गत मंगलबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ दामाचौरस्थित खोलीबगरबाट पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जना पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
कारागारबाट फरार भएकामध्ये अझै दुई जना प्रहरीको खोजी सूचीमा छन्। फरार हुनेमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर-३ का आदेश भण्डारी छन्।
सुरुङ खनेर सामूहिक रूपमा कारागारबाट फरार भएका कैदीमध्ये अधिकांश पक्राउ परे पनि बाँकी दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया