साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रमा आइतबार आक्रमणको प्रयास भएको छ।
घटनामा सरकारी तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा क्षति पुगेको छ। भवनका विभिन्न तलाका झ्यालका सिसा फुटेका छन्। तर घटनामा कसैको मृत्यु वा घाइते नभएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।
यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।
किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएका छन्। एक प्रत्यक्षदर्शीले ‘केएएफडीमा रहेको अरामको टावरलाई नै लक्षित गरिएको हो, यसमा कुनै शंका छैन’ भनेका छन्। अन्य दुई प्रत्यक्षदर्शीले पनि भवनमा क्षति पुगेको पुष्टि गरेका छन्।
अर्का एक प्रत्यक्षदर्शीका अनुसार अरामको टावरका धेरै तलामा क्षति पुगेको छ। भवनका सिसा फुटेका छन् भने बाहिरी संरचनाका केही भागमा समेत क्षति देखिएको छ।
तर साउदी ऊर्जा मन्त्रालयले भवनमा सिधै क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छैन। मन्त्रालयका अनुसार आक्रमणको प्रयासका क्रममा खसेका अवशेषका कारण अरामको प्रशासनिक भवनमा सामान्य क्षति पुगेको हो। घटनामा कुनै मानवीय क्षति नभएको पनि मन्त्रालयले जनाएको छ।
यमनमा लामो समयदेखि जारी द्वन्द्वका क्रममा सन् २०२२ मा भएको युद्धविराम गत जुलाईमा भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबिच पुनः आक्रमण र प्रत्याक्रमण भइरहेको छ। हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य संरचनालाई निशाना बनाउँदै आएका छन्।
इरानको समर्थन प्राप्त हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए। त्यसको एक वर्षपछि साउदी नेतृत्वको गठबन्धन यमनको तत्कालीन सरकारको समर्थनमा द्वन्द्वमा सहभागी भएको थियो।
किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट साउदी अरबको आर्थिक तथा सामाजिक सुधार अभियानको प्रमुख प्रतीक मानिन्छ। यहाँ अग्ला सिसाका भवन, विलासी पसल र हरियाली क्षेत्र छन्। आवासीय भवन तथा ठुलो मेट्रो स्टेसनसमेत रहेको यस क्षेत्रमा बिहानको व्यस्त समयमा मानिसहरूको बाक्लो आवतजावत हुने गर्छ।
यस क्षेत्रमा भएको आक्रमणलाई साउदी अरब र हुथी विद्रोहीबिचको द्वन्द्वमा तनाव थप बढाउने घटनाका रूपमा हेरिएको छ।
साउदी शिक्षा मन्त्रालयले शनिबार राति रियादका विद्यालयमा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको केही घण्टापछि आक्रमण भएको हो। यसअघि आक्रमणको शृङ्खलाका कारण केही सातादेखि विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन भइरहेको थियो।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका दुई ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेर नष्ट गरेको बताएका थिए। यसैबिच साउदी राजधानीमा ठुला विस्फोटका आवाज सुनिएका थिए।
हुथी विद्रोहीबाट निरन्तर आक्रमणको सामना गरिरहेको साउदी अरबले सहयोगी राष्ट्रहरूसँग सहयोगका लागि आग्रह गरिरहेको छ। हुथी विद्रोहीले हालै साउदी समर्थित सरकारको नियन्त्रणमा रहेको लाल सागरको तटीय क्षेत्रको ठुलो हिस्सा कब्जा गरेका छन्।
यमनका विभिन्न अधिकारीहरूले एएफपीलाई बताएअनुसार हजारौँ सिरियाली सैनिक साउदी अरब र यमनमा तैनाथ हुने तयारीमा छन्। तीमध्ये केही सैनिक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार यमनमा द्वन्द्व पुनः चर्किएयता एक हजार ६ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन्।
सन् २०२२ मा भएको कमजोर युद्धविराम सम्झौता हुथी विद्रोहीले साउदी अरबको नियन्त्रणमा रहेको यमनी हवाई क्षेत्रको प्रतिबन्ध उल्लङ्घन गर्दै इरानी विमानलाई राजधानी सानामा अवतरण गर्न दिएपछि भंग भएको थियो। त्यसपछि आक्रमणको शृङ्खला सुरु भएको थियो।
त्यसपछि हुथी विद्रोहीले साउदी अरबमाथि सामुद्रिक नाकाबन्दी घोषणा गर्दै उसका जहाज, भूभाग र तेल पूर्वाधारमा आक्रमण गरेका थिए। उनीहरूले आक्रामक अभियान सञ्चालन गर्दै यमनको लाल सागर तटीय क्षेत्रको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएका थिए। एजेन्सी

प्रतिक्रिया